१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

रघुजी पन्तविरुद्ध कोमल वलीद्वारा गाली बेइज्जतीको मुद्दा



काठमाडौँ । राष्ट्रिय सभा सदस्य कोमल वलीले एमालेका स्थायी समिति सदस्य रघुजी पन्तको विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेको छ ।

वलीले मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी कसुरमा पन्तविरुद्ध मुद्दा दायर गरेकी हुन् । उनले मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०५, ३०६ र ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् ।

नेता पन्तले एक कार्यक्रममा वलीबारे विवादित टिप्पणी गरेका थिए । पन्तले वलीको कुनै योगदानबिना नै राष्ट्रिय सभासम्मको यात्रा गरेको भन्दै आपतिजनक अभिब्यक्ति दिएका थिए ।

‘हाम्रो पार्टीमा २०औं वर्ष देखि विवाह नगरी महिलाहरु लागेका छन् । केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद् त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कामरेडहरु न एक पटक राष्ट्रिय सभाको सदस्य पनि हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि हुन पाइन्, केन्द्रीय कमिटीको सदस्य पनि हुन पाइन्’ पन्तले भनेका थिए ।

वलीले फिरादपत्रमा मुलुकी अपराध सहिंता २०७४ को दफा ३०५(१), (२)(क) बमोजिम कसुर गरेको दाबी गर्दै पन्तलाई दफा ३०७(१) बमोजिम सजाय हुनुपर्ने मागसमेत गरेकी छिन् । मुलुकी अपराध संहिताको दफा ३०७(१) मा ‘कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई २ वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने’ कानुनी प्रावधान छ ।

वलीले भने नेता पन्तले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेकाले कानुनी प्रावधानअनुसार थप एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग गरेकी छिन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १ : ३७ बजे