अमेरिका । कोभिड खोपमा धनी राष्ट्रहरुले एकाधिकार गरेको आरोप लागि रहेको बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारका न्यून र मध्यम आय भएका मुलुकलाई थप ५० करोड डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका छन् ।
बुधबार भएको भर्चुअल ग्लोबल कोभिड-१९ समिटलाई सम्बोधन गर्दै बाइडेनले फाइजर कम्पनीले बनाएको थप ५० करोड डोज खोप अरू मुलुकलाई दिन अमेरिकाले किन्न लागेको बताएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएको छ । योसँगै अमेरिकाले बहिरी मुलुकलाई दिएको खोपको मात्रा १ अर्ब १० करोड पुग्ने छ ।
यसका साथै बाइडेनले खोपसँगै प्राविधिक सहयोगको रुपमा थप ३७ करोड अमेरिकी डलर (४३ अर्ब ८७ करोड नेपाली रुपैयाँ) पनि उपलब्ध गराउने बताएका छन् ।
उनले अहिलेसम्म अमेरिकाले संसारका एक सय मुलुकमा १६ करोड डोज खोप अनुदानमा दिइसकेको पनि जानकारी दिए । ‘यो महामारीलाई परास्त गर्न हामीले हरेक ठाउँमा यसलाई परास्त गर्नुपर्छ,’ बाइडेनले भनेका छन्, ‘यो हामी सबै मिलेर सामना गर्नुपर्ने चुनौती हो ।’
यो ५० करोड खोप सन् २०२२ बाट पठाउन सुरू गरिने पनि बताइको छ ।