१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

कलाकार जयनन्द लामाको निधन



लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँको आज बिहान आफ्नै घर अगाडि निधन भएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आएका ६६ वर्षीय लामाको बिहान निधन भएको हो ।

बिहान करिब ३ बजेतिर लामा निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको घटनास्थलमा पुग्नुभएका महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान बताइएको छ । बा३च ७७४१ नंको कार लामा आफैले हाँकेर घर नजिकै पार्किङ गरेको पाइएको छ । शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे परिवारलाई जानकारी गराएका थिए ।

लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशिल थिए । ‘कलकत्ते काइँयो केश मेरो बाङ्गो, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाको पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।

विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गरेका लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आएका थिए । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरेका उनले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए ।

विभिन्न विद्यालयमा उनी सङ्गीत गुरुका रूपमा क्रियाशिल थिए । उनको श्रीमती र दुई छोरा छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ११ : १६ बजे