२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

गठबन्धन दलहरुबीच महानगर र उपमहानगरमा सहमति



पाँच दलीय सत्तारुढ गठबन्धनले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँट टुंगो गरेको छ । सहमति अनुसार काठमाडौँ, ललितपुर र विराटनगरमा कांग्रेसले प्रमुख पद पाएको छ भने वीरगञ्ज, भरतपुर र पोखरामा उपप्रमुख ।

यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरमा पनि कांग्रेसका उम्मेदवारलाई गठबन्धनले सघाउने सहमति जुटेको छ। उपमहानगरमध्ये जितपुर सिमरा, घोराही र हेटौडामा पनि गठबन्धनले कांग्रेसले अघि सार्ने उपप्रमुखलाई सघाउने भएको छन्।

गठबन्धनबीच नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरसँगै जितपुर सिमरा, घोराही उपमहानगरमा प्रमुख दिने समझदारी जुटेको छ। सहमतिअनुसार माओवादी केन्द्रले धरान र धनगढी उपमहानगरमा उपप्रमुख पदमा उम्मेदवार उठाउने छ।

नेकपा एकीकृत समाजवादीलाई गठबन्धनले पोखरा महानगरको प्रमुखमा सघाउने भएका छन्। एकीकृत समाजवादीले काठमाडौँ महानगर र हेटौडा उपमहानगरमा उपप्रमुखमा उम्मेदवारी दिनेछ ।

गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) लाई मधेश प्रदेशको एकमात्र महानगर वीरगञ्जको नेतृत्व दिएको छ । जसपाले जनकपुर उपमहानगरमा प्रमुख र कलैया तथा नेपालगञ्ज उपमहानगरमा उपप्रमुखको उम्मेदवार दिने छ ।

शीर्ष नेताहरूद्वारा हस्ताक्षरित सहमति पत्रमा पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरूको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरूको चयन गर्न निर्देशन दिइएको छ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : २१ बजे