नेपाल जनजाति महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री डा. ओम गुरुङको सोमबार निधन भएको छ । ६८ वर्षको उमेरमा गुरुङको सोमबार दिउँसो ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।
अस्पतालमा १:४५ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । ‘उहाँमा क्यान्सर देखिएपछि नयाँ दिल्लीमा उपचार गरिएको थियो । पछि नेपालमा पनि क्यान्सरको उपचार हुँदै आएको हो,’ उनका एक सहयोगीले भने । उनलाई आइतबार अफ्ठ्यारो महशुस भएपछि अस्पताल भर्ना गरिएको बताइएको छ ।
नेपालको आदिवासी आन्दोलनका एक योद्धका रुपमा रहेका गुरुङले प्राज्ञिक क्षेत्रबाट मात्र होइन, एक अभियन्ताको रुपमा समेत काम गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका गुरुङ १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए । उनको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए । गुरुङको श्रीमती, १ छोरा र २ छोरी छन् ।