६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

देउवा डडेल्धुराबाट सातौँपटक विजयी, सागरले कटाए १३ हजार मत



डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरी जित हासिल गरेका छन् । योसँगै उनी यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी भए ।

कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति देउवाले २५ हजार पाँच सय ३४ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गरेका छन् ।

देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिएका हुन् । विसं २०१७ देखि राजनीतिमा लाग्नुभएका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुन् ।

विसं २०४८ को आमचुनावमा पहिलो पटक देउवा डडेल्धुराबाट विजयी भएका थिए । देउवा २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट विजयी भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : २५ बजे