काठमाडौं । एमालेले माओवादी अध्यक्ष पुष्फकमल दाहाल नेतृत्वको सरकारबाट एमाले फिर्ता भएको छ । एमाले सचिवालय बैठकले सोमबार गरेको निर्णय अनुसार एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् ।
गत पुस १० गते कांग्रेससँगको छलफलमा प्रधानमन्त्री नपाएपछि दाहालले कांग्रससँगको गठबन्धन तोडेर एमालेसँग सहमति गर्दै प्रधानमन्त्री बनेका थिए । एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित सात जना मन्त्री सरकारमा सहभागी थिए ।
तर सोही दिन भएको सहमति अनुसार माओवादीले एमालेलाई राष्ट्रपति नदिएर कांग्रेससँग गठबन्धन गरेका छन् । फागुन २५ गते हुने राष्ट्रपति पदको चुनावमा कांग्रेसबाट नेता रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन् भने एमालेले सुभाष नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
माओवादीले कांग्रससँग अर्को गठबन्धन गरेर राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई भोट हाल्ने निर्णय गरेको छ । यद्यपी एमालेले राष्ट्रपतिको निर्वाचनसम्म सरकारमै रहने र सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । तर आइतबार एमालेबाट परराष्ट्रमन्त्री रहेकी विमला राई पौडेललाई जेनेभामा हुन लागेको मानव अधिकार काउन्सिलको बैठकमा सहभागी हुन जानबाट रोक्ने र एमाले मन्त्रीहरुलाई बर्खास्त गर्ने अभिब्यक्ति दिएपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
‘मन्त्रिपरिषदको निर्णयको आधारमा जेनेभा जान लाग्नु भएका परराष्ट्रमन्त्रीलाई अन्तिम क्षणमा अकारण नजान निर्देशन गर्नु भएको छ,’ उपप्रधानमन्त्रीबाट राजीनामा दिएका पौडेलले भने, ‘हामीलाई सरकार छाड्न, नभए उहाँले हटाउने वा विना विभागीय मन्त्री बनाउने अभिव्यक्ति दिनुभएपछि सरकारमा रहिरहन उचित देखेनौं ।’