२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

आमा–छोराछोरी गरी चारको हत्या, अझै भेटिएन क्लु



मुगु जिल्लामा एकै परिवारका ४ जनाको बीभत्स हत्या भएको ४ दिन बितिसक्दा पनि प्रहरीले घटनाको कुनै क्लु भेट्न सकेको छैन ।

मुगुको छायानाथरारा नगरपालिका–६ मुन्दु गाउँ निवासी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज र ८ महिनाका रहर तथा ८ वर्षीया छोरी अप्सराको एकसाथ बुधबार हत्या भएको थियो । उनीहरु मारिएको शुक्रबार मात्र भेटिएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापासहितको विशेष अनुसन्धान घटनास्थल टोली पुगी सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ भने प्रदेश सदरमुकामबाट डीआइजी समेत पुगेका थिए ।

थप अनुसन्धानका लागि शनिबार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको टोली र जुम्लाबाट प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएका छन् ।

प्रहरीले घटना भएको पूरै गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिरहेको भए पनि हालसम्म कुनै प्रमाण फेला पार्न नसकेको बताइएको छ । आइतबार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालसमेत घटनास्थल पुगेका थिए ।

यसअघि पटकपटक मुन्दु गाउँमा आउ/जाउ गरेका केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताएका छन् । अनुसन्धानमा प्रयोग गरिएका कुकुरले समेत अहिलेसम्म घटनासँग सम्बन्धित कुनै सुराक फेला पार्न नसकिएको उनले बताइएको छ ।

घटनाको प्रकृति हेरेर श्रीदेवीका गहना र मोबाइल फोन नभेटिनुले लुटपाट गर्ने उद्देश्यले हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ५ : १३ बजे