परराष्ट्रमन्त्री एनपी साउद हमासको बन्धक बनाएको नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका गर्न कतार जाने भएका छन् । उनी यही मङ्सीर २३ गते कतार जान लागेका हुन् ।
उनको सचिवालयका अनुसार यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए ।
त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले बुधबार गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपीन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् ।
कतार बसाइका क्रममा उनी दोहा २१ औँ फोरममा पनि सहभागी हुने छन् । उक्त सम्मेलन डिसेम्बर १० देखि सुरु भइ दुई दिनसम्म चल्ने छ ।