६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

राप्रपाको आन्दोलनमा घाइते डाँगीको मृत्यु, शहीद घोषणा गर्न माग



राजा र हिन्दू अधिराज्य फर्काउनेसहितका मागहरु राखेर राप्रपाले चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोमबमर बिहान चार बजे मृत्यु भएको हो ।

डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए । आन्दोलनकारी निषेधित क्षेत्र तोडेर सिंहदरवार तर्फ अघि बढेपछि प्रहरीले पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

सोमबार दिनभर श्रद्धाञ्जलीको लागि उनको शबलाई पार्टी कार्यालयमा राखिएको थियो । राप्रपाले डाँगीलाई शहीद घोषणा तथा क्षतीपूर्तीको माग गरेको छ । राप्रपाले संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमाथि गरिएको दमन निन्दनीय भएको पनि बताएको छ ।

प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘…नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास हो । स्व. ठाकुर प्रसाद डाँगीलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राप्रपा सरकारसंग माग गर्दछ ।’

२७ चैतमा राप्रपाले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । त्यस क्रममा करिब ५० जना घाइते भएका र धेरै जना उपचारपछि घर फर्केका श्रेष्ठले जानकारी दिए । उनका अनुसार शल्यक्रिया गर्नुपर्ने छ जना अझै उपचारको क्रममा विभिन्न अस्पतालमा रहेका छन् ।

डाँगीको निधनमा शोक प्रकट गर्न राप्रपाले ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झण्डा झुकाउने र १३ औं दिनको पुण्यतिथिमा केन्द्रमा र सम्पूर्ण जिल्लामा शोकसभा गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ११ : ५३ बजे