६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

कांग्रेस सांसद खड्काले हडपेको स्काउटको जग्गामा शिलबन्दी



प्रतिनिधिसभा सांसद तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काले हडपेको नेपाल स्काउट केन्द्रीय कार्यालयस्थित जग्गा र त्यहाँका भवनमा शिलबन्दी गरेको छ ।

नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गा भाडामा लिएका खड्काले बिगत १५ बर्षदेखि १२ रोपनी जग्गा हडपेर उपभोग गर्दै आएका थिए ।
स्काउटका जग्गा र भवन हडपेर खड्काले १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहेका थिए । स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि उनले अटेर गर्दै आएका थिए ।

संखुवासभाबाट निर्वाचित सांसद् खड्कालाई स्काउटलाई फिर्ता गर्नु भनी पाटन उच्च अदालतले दुई वर्षअघि फैसला गरेको थियो । अदालतको फैसलासमेत नमानेको भन्दै स्काउटले जग्गा तथा भवन फिर्ता गराउन राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृहमन्त्री, खेलकुदमन्त्री, सबै सांसद, संसदीय समितिहरू, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत राज्यका सबैजसो निकायलाई पत्राचार गरेर हारगुहार गराइएको थियो ।

खड्का सञ्चालक रहेको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएको थियो । सम्झौताको म्याद २०७५ मै सकिए पनि सम्झौताअनुसार भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ भुक्तानी गरेका छैनन् ।

भाडामा लिएको ३ रोपनी जग्गामा खड्काले लैनचौर ब्याकेट र माई च्वाइस रेस्टुरेन्टलाई भाडामा लगाएका छन् । बैङ्केट र रेस्टुरेन्टको संरचना ५ रोपनीमा फैलिएको छ । बाँकी करिब ७ रोपनी जग्गामा सशुल्क पार्किङ राखेका छन् ।

लैनचौर चोकको स्काउट भवनको ३६ वटा सटर/कबल पनि खड्काले १५ वर्षदेखि भाडामा लिएका थिए । भाडामा दिएको भवनमा विद्युत् र पानीको महसुलसमेत स्काउटको नाममा उठ्थ्यो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १२ : ४२ बजे