१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

युक्रेनलगायतका देशका लागि अमेरिकी संसदबाट ९५ बिलियन डलरको सहायता पारित



लामो समयको बहस छलफल र वार्ताबीच अमेरिकाको संसदले द्वान्द्वरतमुलुकहरु युक्रेन, इजरायललगायतका देशहरुलाई सैन्य सहयोग गर्नका लागि ९५.३ बिलियन डलर बराबरको सहायता प्याकेजलाई स्वीकृत गरेको छ ।

अमेरिकी समाचार संस्थाहरुका अनुसार संसदको तल्लो सदनले अलग–अलग सहयोग प्याकेजमा सरकारलाई सहमति दिएका हसन् । तल्लो सदनले पास गरेको सहयोग प्याकेज अब माथिल्लो सदनमा पेश हुनेछ । त्यहाँबाट पनि पास भएर कार्यान्वयन प्रक्रियामा जान अझै करिब एक हप्ता लाग्ने अनुमान छ ।

सिनेटले पारित गरेर पठाएपछि अमेरिकी राष्ट्रपति जो बाइडनले सहयोग घोषणाको प्याकेजमा हस्ताक्षर गर्दछ ।

सैन्य सहायतको प्याकेजमा अमेरिकाले युक्रेनलाई ६०.८ बिलियन डलर बराबरको सहयोग गर्ने छ । रुससंगको युद्धमा रहेको युक्रेनले सहयोगमा अमेरिकाबाट निर्मित हतियार, गोलाबारुदको आपूर्ति लगायत प्राप्त गर्नेछन् भने यही प्याकेज अन्तर्गत करिब ९.५ बिलियन अमेरिकी डलर माफीयोग्य ऋणको रुपमा रहेको छ ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेनेस्कीले सहयोग प्याकेजमा प्रतिक्रिया जनाउँदै अमेरिकाप्रति आभार व्यक्त गरेका छन् । लोकतन्त्र र स्वतन्त्रता सधैं महत्वपूर्ण रहने बताउँदै उनले भनेका छन्, ‘जबसम्म अमेरिकाले यसको रक्षामा मद्दत गर्दछ, तबसम्म यो कहिल्यै विफल हुँदैन ।’

सैन्य सहयोगको प्याकेज पास गर्ने कि नगर्ने भन्ने विषयमा संसदमा भोटिङ भएको थियो । रिपब्लिकन सांसदहरुले विपक्षमा मतदान गरेका थिए । डेमोक्रेटिक सांसदहरुले भने पक्षमा मतदान गरे । उक्त प्रस्ताव पारित भएपछि डेमोक्रेटिक सांसदहरु युक्रेन–युक्रेन भन्दै खुसीयाली मनाएका थिए ।

अमेरिकी तल्लो सदनबाट इजरायलको पक्षमा करिब १७ बिलियन अमेरिकी डलर र गाजा लगायतका युद्धग्रस्त क्षेत्रका लागि ९ बिलियन डलरभन्दा बढीको मानवीय सहायता प्याकेज पनि पास भएको छ ।

यसैगरी अर्को सहायता प्याकेज इन्डो–प्यासेफिक क्षेत्रका लागि छ । इन्डो–प्यासेफिक क्षेत्रका लागि ८.१ बिलियन डलर छ । यसको आधा हिस्सा ताइवानका लागि छुट्याइएको छ । यसैगरी रिपब्लिकन सांसदहरुका प्राथमिकतासँग सम्बन्धित अर्को एक बिल छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ९ : २३ बजे