हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा आस्माकुमारी केसी ‘मिस नेपाल २०२४’ बनेकी छन् । त्यसैगरी ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि करुणा रावत र ‘मिस नेपाल अर्थ’को उपाधि सुमना केसीले जितेका छन् ।
आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जित्न आफूले लामो संघर्ष गरेको बताइन् । उनले ताज पहिरिएपछि भनिन्, “म असाध्यै उत्साहित र खुसी छु । मेरो यति धेरै संघर्षको फल आज मैले प्राप्त गरेकी छु ।”
२६ वर्षीया आस्माकुमारी उद्यमी तथा ‘सोसल वर्क’की विद्यार्थी हुन् । ‘सोसल वर्क’मा स्नातक गरेकी उनी ‘इम्पोर्ट डिस्ट्रिब्युसन एक्सपोर्ट’को व्यवसायमा सक्रिय छिन् । १८ वर्षको उमेरमै आस्माले अनलाइन व्यापार सुरु गरेकी थिइन् । १२ कक्षाको पढाइ सकिएपछि बाबुआमाले ‘विदेश जान्नौ?’ भनेर सोधे पनि आफूलाई अनलाइन व्यापारमा सक्रिय भएको बताउने गरेकी छन् ।
प्रतियोगिताबीच ‘रियल मिस पपुलर च्वाइस’को उपाधि जित्दै अञ्जना पुन सिधै सेमी फाइनलमा प्रवेश गरेकी थिइन् । उनले नै ‘मिस डिलाइटफुल ह्याप्पी इन्टिलेजेन्ट’को उपाधि पनि जितेकी छन् । त्यस्तै, ‘डाबर हनी मिस फिटनेस क्विन’ उर्जा नेवाले जित्दा ‘मिस हेल्दी स्किन’ सिम्रिका मानन्धरले जितिन् । त्यसरी नै ‘वात्सल्य मिस भिजिनरी’को उपाधि साइरा खड्का, ‘मिस कन्फिडेन्ट’को उपाधि प्रेभिता स्वाँर, ‘मिस हाइजिन’को उपाधि सुमना केसी, ‘मिस ग्रीन भिजनरी’को उपाधि भने अम्बिका रानाले जितिन् ।
यो वर्ष २६ सुन्दरीहरू सौन्दर्य प्रतियोगितामा सहभागी थिए । शुभेच्छा कार्की, आस्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, सिम्रिका मानन्धर, आँचल खत्री, उर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दीक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेरबुजा, किम्ती श्रेष्ठ, प्रेभिटा स्वाँर, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुसाल, पूजा बराल, अम्बिका राना, साइरा खड्का, अनिशा मल्ल, श्रद्धा सुमन सिलवाल र सामिन कोइराला सहभागी थिए ।
त्यसैगरी ‘मिस फोटोजेनिक’को उपाधि श्रद्धा सुमन सिलवालले जितिन् भने ‘फेस अफ द इयर’ आस्माकुमारी केसी नै बनिन् । त्यस्तै, ‘द काठमान्डु पोस्ट मिस इन्टेलेक्चुअल’ उपाधि दीक्षा अवस्थीले जितिन् । ‘मिस ब्युटी विथ अ प्रपोज’को उपाधि सुमना केसी र ‘वुमन विथ विस’को उपाधि किम्ती श्रेष्ठले जितिन् ।
कार्यक्रममा ११ निर्णायकहरू डा. रूपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्माचार्य, साहारा बस्नेत राणा, दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे र सकुन भण्डारी थिए ।