२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

अमेरिकी राष्ट्रपतीय चुनाव: अग्नि नियन्त्रक संघले कसैलाई समर्थन नगर्ने



अग्नि नियन्त्रकहरूको अन्तर्राष्ट्रिय संघ (आइएएफएफ) का कार्यकारी समितिले अमेरिकी राष्ट्रपति पदको लागि कसैलाई समर्थन नगर्ने निर्णयमा गरेको छ । संघका अध्यक्ष एडवर्ड केलीका अनुसार १.२% को झिनो मत अन्तरमा कसैलाई समर्थन नगर्ने निर्णयमा पुगेको हो । उसले सदस्यहरूको व्यापक विचार सुनेपछि निर्णय लिइएको समेत बताए ।

“हामीले हाम्रा सदस्यहरूको विचार सुन्यौं, र एकताको संरक्षणका लागि यो निर्णय सबैभन्दा उपयुक्त लाग्यो” केलीले सञ्चार माध्यमहरुसँग भनेका छन् ।

यस वर्षको चुनावबाट टाढा बस्ने आइएएफएफ अर्को प्रमुख श्रमिक संगठन हो । यसअघि, अन्तर्राष्ट्रिय ब्रदरहुड अफ टिम्स्टर्सले पनि राष्ट्रपति चुनावमा कसैलाई समर्थन नगर्ने निर्णय गरेको थियो । अधिकांश अन्य श्रमिक संगठनहरूले उपराष्ट्रपति कमला ह्यारिसको समर्थन गरिसकेका छन्, विशेष गरी बाइडेनले पुन: चुनाव लड्ने योजनाबाट पछि हटेपछि डेमोक्र्याटिककी ह्यारिसलाई समर्थन मिलेको हो । अहिलेसम्म कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय श्रमिक संघले ह्यारिसका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छैनन् ।

३५०,००० सदस्य रहेको आइएएफएफले यसअघि सन् २०२० को चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनलाई समर्थन गरेको थियो ।

यद्यपि आइएएफएफले कसैको समर्थन नगर्ने समाचार ट्रम्पको लागि भने उत्साहजनक हुन सक्छ । प्राय: डेमोक्र्याटिक पार्टीका सहयोगी हुने श्रमिक संगठनहरु मध्ये प्रमुख संगठनले कसैको समर्थन नगर्दा ट्रम्पको अभियानले त्यसलाई आफ्नो समर्थनका रूपमा प्रस्तुत गर्न सक्छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १२ : ०४ बजे