२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

धौलागिरिमा पांच आरोहीको मृत्यु



धौलागिरि प्रथम हिमाल आरोहणमा गएका पाँच जना रूसी आरोहीको मृत्यु भएको हो । उनीहरु दुई दिनदेखि हराई रहेका थिए । खोजीमा गएको टेलीले मंगलबार उनीहरुको शब फेला पारेको हो ।

असोज २० गते राति ११ बजे धौलागिरि हिमालको ‘समिट पुस’का लागि अलेक्जान्डर डसीको नेतृत्वमा गएका ओलेक क्रुग्लोभ, सिस्टकोभ भाल्दिमिर, नोसेन्को मिखाइल र एसएचपिलेभोज दिमित्री ८ हजार मिटर माथिबाट हराइरहेका थिए ।
पर्यटन विभागका अनुसार २०८९ भदौ १९ गते रसियाको प्रख्यात आरोहीहरुको टोलीलाई ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी १ हिमाल आरोहणका लागि अनुमति दिएको थियो । विभागका अनुसार रूसी टोली नेता अलेक्जान्डर डसीका नेतृत्वमा १४ जनाको टोलीलाई हिमाल आरोहण गर्ने अनुमति दिइएको थियो । आरोहणको व्यवस्थापन भने आईएम ट्रेकिङ एण्ड एक्सपिडिसनले गरिरहेको थियो ।

असोज २० गते राती आरोहीहरूसँग अन्तिम सम्पर्क भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले दिएको जानकारी दिए । ‘राति ११ बजे ८ हजार मिटरको उचाईमा पुग्दासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्क टुटेको जानकारी प्रहरीलाई दिइएको थियो ।

पर्यटन विभागले जारी गरेको बुलेटिन अनुसार रूसी टोलीले दुई समूहमा विभाजित भएर आरोहण गर्ने योजना बनाएको थियो । स्वास्थ्य खराब भएपछि ६ जना आरोहणी फर्किएका थिए । आरोहण व्यवस्थापन गर्ने एजेन्सी र सम्पर्क अधिकृतका अनुसार दुई आरोही डेनिस एलेक्सेन्को र आर्टस्योम तेसेन्त्सेभित्स्की भने आरोहण सम्पन्न गरी बेस क्याम्पमा फर्किसकेका छन् । ‘उनीहरु त्यहाँ सकुशल रहेको र सम्भवतः १–२ दिनमा तल झर्ने योजनामा रहेका छन्,’ विभागको बुलेटिनमा भनिएको छ । विभागका अनुसार बाँकी एक जना सिपिलेभोइ भने टोलीबाट छुट्टिएका थिए । उनलाई मंगलबार नै क्याम्प १ बाट उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ ।

खराम मौसमका कारण दुर्घट्नामा परेका रूसी टोलीले बेस क्याम्पसम्म मात्रै शेर्पाको साहयता लिएको र बिना अक्सिजन नै समिट गर्ने गरि अगाडि बढेको बताइएको छ । बाँकी ६ जना भने असोज २० गते समिट पुसमा गएको र ती मध्येका एक भ्यालेरी सिपिलेभोइको स्वास्थ्यमा समस्या आएका कारणले उनी बीच बाटोबाटै फर्किएका थिए । ‘केही समयपछि उनले माथि रहेका ५ जनालाई तल फर्कन अनुरोध गरेको बताएका छन् । उनीहरुले ८ हजार मिटरको नजिक पुगेकोले समिट प्लान नछाडेको तर केही समयपछि रेडियो सेटमा सबैजनाले आरोहण परित्याग गरी तल झर्दै गरेको बताएका थिए,’ पर्यटन विभागले भनेको छ । सम्पर्क अधिकृत र एजेन्सीले २० गते रातिबाट ५ जना आरोही सम्पर्कविहिन भएको जानकारी विभागलाई गराएसँगै उनीहरूको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको थियो । मौसमको प्रतिकुलताका कारण असोज २१ मा हेलिकोप्टर सो क्षेत्रमा जान नसकेको बताएको छ । यस्तै असोज २२ गते बिहानै हेली उडेर सो क्षेत्रमा गएर हेर्दा करिब ७६०० मिटरको उचाइमा ५ जना लडिरहेको देखिएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ९ : २९ बजे