विगतको परम्परालाई तोड्दै अगामी राष्ट्रपतीय चुनावमा दी वाशिंगटन पोस्ट र लसएञ्जलस् टाइम्सले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने जनाएको छ ।
विगत यी दुवै प्रभावशाली सञ्चार माध्यमले बिशेष गरेर डेमोक्र्याटिक पार्टीका उम्मेदवारलाई समर्थन गर्दै आएका थिए । यस पटकको निर्णय सम्पादकीय टीमले भन्दा पनि अर्बपति साहुले गरेको भन्दै सम्पादकीय टीमले विरोधसमेत गरेको छ ।
वाशिंगटन पोस्टका सीईओ विलियम लुइसले यो निर्णय “राष्ट्रपति उम्मेदवारको समर्थन नगर्ने पुरानो परम्परामा फर्कने प्रयास” भएको बताएका छन् । तर निर्णयपछि अखबारको कर्मचारी संगठन वाशिंगटन पोस्ट गिल्डले यसलाई अखबारको “विश्वसनीयता र सदस्यतामा धक्का” भएको बताएको छ । नाम उल्लेख नगर्ने अधिकारीलाई उदृत गर्दै पोष्टको “डेमोक्रेसी डाइज् इन डार्क” भन्ने नारालाई “वासिङ्टन पोष्ट इन डार्क” भएको उल्लेख गरेको छ ।
बीबीसीका अनुसार पोष्टकै उक्त समाचारमा सम्पादकीय समुहले कमला ह्यारिसलाई समर्थन गर्नको लागि विश्लेषण तयार पारेको तर त्यसलाई प्रकाशन गर्नबाट पोष्टका मालिक अर्बपति जेब जोबसले रोकेको उल्लेख गरेको छ ।
टाइम्समा पनि पोष्टकै जस्तो अवस्था सृजना भएको बताइएको छ । एलए टाइम्सकी सम्पादकीय सम्पादक मरिएल गार्जाले यस निर्णयलाई विरोध गर्दै राजीनामा दिएकी छन् । गार्जाले भनेकी छिन्, “जोखिमपूर्ण समयमा इमानदार मानिसहरू खडा हुनुपर्छ, र यो मेरो खडा हुने तरिका हो ।” उनले अखबारको मालिक अर्बपति प्याट्रिक सुन-स्योङले डेमोक्रेटिक उमेदवार कमला ह्यारिसको समर्थन गर्ने योजनामा अवरोध गरेको बताएकफ छिन् ।
साथै एलए टाइम्स र वाशिंगटन पोस्टले उम्मेदवार समर्थन नगर्ने निर्णयले अखबारहरूभित्रै गम्भीर विवाद निम्त्याएको छ भने पाठकहरूबीच असन्तोष निम्त्याएको उल्लेख गरिएको छ ।