१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

चीनको डीपसेक एआइले अमेरिकाको एआई प्रभुत्वलाई चुनौती



चीनको नयाँ डीपसेक एआइ एपले प्राविधिक क्षेत्रमा तहल्का मच्चाउँदै, बजारको गिरावट र अमेरिकाको कृत्रिम बुद्धिमत्ता क्षेत्रमा रहेको प्रभुत्वलाई हल्लाइ दिएको छ । यस नयाँ एपले यस साताको अन्तिममा अमेरिकी एप्पल एप स्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएको निःशुल्क एप बनेको छ, जसले प्राविधि जगतलाई अचम्ममा पारेको छ र विशेषज्ञ र लगानीकर्ताहरूलाई यसको प्रभावको मूल्यांकन गर्न दौडाएको छ ।

बीबीसीका अनुसार प्रख्यात भेन्चर क्यापिटालिस्ट मार्क आन्द्रिसनले डीपसेकलाई “एआईको स्पुतानिक क्षण” भनेका छन्, जुन सोभित संघले पहिलो पटक उपग्रह प्रक्षेपण गर्दा स्पेस रेस सुरु गरेको क्षणसँग तुलना गरिएको छ । एपको लञ्चसँगै नभिडियाका शेयरहरूमा १७% गिरावट आई, जसले अमेरिकी बजारमा लगभग छ सय अर्बको घाटा ल्यायो । जसलाई ब्लुमबर्गले अमेरिकी शेयर बजारको इतिहासमा सबैभन्दा ठूलो गिरावटका रूपमा उल्लेख गरेको छ ।

डीपसेकका विकासकर्ताहरूका अनुसार, यस एपलाई ओपनएआइ र गुगल जस्ता प्रमुख कम्पनीहरूको तुलनामा निकै कम लागतमा विकास गरिएको हो । जहाँ ओपन एआइले मात्र गत वर्ष पाँच बिलियन डलर खर्च गरेको थियो, त्यहाँ डीपसेक एआइका विकासकर्ताहरूले यो मोडेल ५.६ मिलियनमा खर्च गरेको दाबी गरेका छन्, जुन अन्य एआई दिग्गजहरूको लागतको एक अंश हो ।

चीनको एपले सिलिकन भ्यालीलाई अचम्ममा पारेको छ, जहाँ केहीले यसको आर्थिक व्यवहारिकता बारे प्रश्न उठाएका छन् । उद्योग विश्लेषक जिन मन्स्टरले डीपसेक एआइका तथ्यांकहरूमा शंका व्यक्त गर्दै भने, “यसको बारेमा धेरै कुरा सतहमा छैन जस्तो लाग्छ ।” यद्यपि, यसले कम लागतमा राम्रो प्रदर्शन गर्न सकेको छ, जसले दुनियाँभरका हेडलाइनलाई आकर्षित गरेको छ ।

यो घटनाले अमेरिकाको एआई उद्योगको उत्साहमा ठूलो धक्का पुर्याएको छ । केही दिन पहिले मात्र, ओपनएआका सम अल्टमन र ओराकलका लारी इल्सनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै एक संयुक्त परियोजना स्टारगेटघोषणा गरेका थिए, जसले ५०० बिलियन डलरको निजी एआई लगानी र नयाँ डेटा केन्द्रहरूको निर्माणका साथ एक लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना ल्याएको थियो ।

तर, डीपसेक एआइको आगमनले अमेरिकाको एआई क्षेत्रमा रहेको प्रभुत्वका बारेमा प्रश्न उठाएको छ । यसले प्रमाणित गरिरहेको छ कि कम लागत र पुराना प्रविधिहरूको प्रयोग पनि एआईको विकासमा सफलता प्राप्त गर्न सक्छ । यसले चीनको दुर्लभ खनिज र एआई इन्जिनियरिङ्ग क्षमता पनि प्रकट गरेको छ ।

राष्ट्रपति ट्रम्पले भनेका छन्, “यो अमेरिकाको एआई उद्योगको लागि एक ‘जागरणको घडी’ हो, सस्तो एआईको विकास हुनु एक राम्रो कुरा हो ।” हालको अवस्थाले यस एआई प्रतिस्पर्धामा नयाँ चुनौती प्रस्तुत गरेको छ र भविष्यमा यसले एआई विकासको रूपरेखा कसरी परिवर्तन गर्ने भन्ने विषयमा धेरै प्रश्न खडा गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ५ : ५९ बजे