९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

चुनावमा ट्रम्पलाई चन्दा दिए, उनकै नीतिले अर्बौं डलर गुमाए



सिलिकन भ्यालीका अर्वपति कार्यकारीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियान वा उद्घाटन कोषमा करोडौं डलर चन्दा दिए । उनीहरूले उनलाई मार-ए-लागोमा भेटे र उनको शपथ ग्रहण समारोहमा अगाडि र बीचमा बसे । तर उनको राष्ट्रपति कालको पहिलो तीन महिनामा, उनको कर नीतिहरूका कारण उनीहरूको गोजी घटेको छ ।

मेटाका सीईओ मार्क जुकरबर्ग, एप्पलका सीईओ टिम कुक, गुगलका सीईओ सुन्दर पिचाई, टेस्लाका सीईओ एलन मस्क र अमेजनका संस्थापक जेफ बेजोसले स्थापना गरेका वा सञ्चालन गरेका कम्पनीहरूले यो वर्षको सुरुदेखि कुल १.८ ट्रिलियन डलर मूल्य गुमाएका छन् । यसै कारण ती प्रविधि कार्यकारीहरुको व्यक्तिगत सम्पत्ति समेत घटेको छ ।

प्रविधिको यी शीर्ष कार्यकारीहरुले ट्रम्पसँग जोडिएर केही व्यापारिक लाभहरू प्राप्त गर्ने आशा निश्चित रूपमा राखेका थिए— जस्तै कम नियमहरू वा एन्टिट्रस्ट दबाब कम गर्न । र ट्रम्पले प्रविधि उद्योगको अमेरिकी प्रभाव विस्तार गर्न र अमेरिकालाई कृत्रिम बुद्धिमत्ताको नेतृत्वकर्ताको रूपमा स्थापित गर्न त्यसबेला उत्सुकता देखाएका थिए ।

तर ट्रम्पको शुल्क योजनाहरूको अनिश्चितताको कारणले सिलिकन भ्यालीले नयाँ चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ । मुख्य रूपमा एशियाको आपूर्ति श्रृंखलालाई लक्षित गरेर समस्या सिर्जना गर्ने देखिएको छ । ठूला प्रविधि कम्पनीहरूले उनीहरुको उत्पादनका पार्टपुर्जाहरु एसियमा बनाउँछन् र जडान गर्छन्। ट्रम्पले “पारस्परिक” शुल्कहरूमा विराम लगाए पनिचीनमाथिको शुल्क १०४% बाट बढाएर १२५% पुर्‍याएको छ ।

विश्लेषकहरूले यसअघि नै दीर्घकालीन पारस्परिक शुल्कहरू र त्यसबाट उत्पन्न हुने आर्थिक अनिश्चितताले प्रविधि क्षेत्रको आयलाई २५% सम्म संकुचित गर्न सक्छ भनेर चेतावनी दिएका थिए । यूबीएसको आइतबारको रिपोर्ट अनुसार एआईका कारण हालैका वर्षहरूमा ठूला प्रविधि कम्पनीहरुले प्राप्त गरेको स्थिर नाफा र शेयर मूल्य वृद्धिमा ठूलो परिवर्तन आइसकेको छ ।

सोमबार, वेडबश सेक्युरिटीजका विश्लेषक ड्यान इभ्सले ट्रम्पको शुल्क नीतिलाई प्रविधि क्षेत्रका लागि “आर्मागेडन” को संज्ञा दिए । उनले भने, “प्रविधि स्टकहरू कभर गरेको २५ वर्षमा मैले देखेको सबैभन्दा कठिन लगानी परिदृश्य अहिले देखेको छु ।”

यस अवधीमा मस्क र टेस्लाले सबैभन्दा नाटकीय घाटा बेहोरेका छन् । ट्रम्पको पुन:चुनावलाई समर्थन गर्न कम्तीमा २९० मिलियन डलर चन्दा दिए पनि र सरकारको दक्षता विभागमा उनको संलग्नता पछि विश्वको सबैभन्दा धनी व्यक्ति मस्कको नेटवर्थ २०२५ को शुरुदेखि १४३ बिलियन डलरले घटेको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सको अप्रिल ८ को तथ्यांक अनुसार यो मुख्य रूपमा टेस्ला शेयरहरूको तीव्र गिरावटका कारण हो, जुन मस्कको सरकारमा विवादास्पद काम, बढ्दो प्रतिस्पर्धा र शुल्कको खतरा ले थिचिएको छ ।

टेस्ला शेयरहरू २८% ले घटे र यसको बजार पूँजीकरण यो वर्षको शुरुदेखि अप्रिल ९ को बजार बन्दसम्म ३७६.६ बिलियन डलरले घट्यो, जसले चुनाव पछिको अधिकांश लाभ मेटाइदियो । मस्कले शुल्कले टेस्लामा “गम्भीर” प्रभाव पार्न सक्ने बताएका छन् ।

मस्क ट्रम्पसँगको निकटताका कारण चर्चामा भए पनि, हालैका घाटा बेहोर्ने उनी एक्ला प्रमुख प्रविधि कार्यकारी भने होइनन् ।

–सीएनएन

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ९ : ०५ बजे