काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालिन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय भएको छ । महान्यायाधिवक्ता कार्यालयले केही दिनअघि उनीहरूविरूद्ध मुद्दा चलाउने निर्णय गरेको बताइएको छ ।
गणेशमान सिंह पुत्री बालमन्दिरकी तत्कालीन अध्यक्ष सिंह उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।
रितासहित १७ जनाविरूद्ध मुद्दा चलाउने निर्णय गरी महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको बताइएको छ । तत्कालीन अध्यक्ष रितासहित १७ जनाविरूद्ध मुद्दा चलाउने गरी तयारी भइरहेको सरकारी वकिल कार्यालय काठमाडौंले पनि जनाएको छ ।
नेपाल बाल संगठनलाई हानीनोक्सानी पुर्याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक-पटक न्यून रकममा सम्झौता गरी संगठनको नामको जग्गा निजी क्षेत्रलाई भाडामा दिइको उजुरीमाथि लामो समयदेखि छानविन भइरहेको थियो ।
यसअघि गत वर्ष वैशाखमा पनि बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी लगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले यस प्रकरणमा सिंहसहित २० जनाविरूद्ध पक्राउ पुर्जी लिएको थियो ।
तर त्यसबेला उनीहरूमाथि अनुसन्धान गरेपनि सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको थियो ।









