३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

छाडिसकेको “बन्द” राजावादीले ब्यूताए



राजतन्त्र र हिन्दू अधिराज्यको माग राखेका आन्दोद्यनमा उत्रिएको राजावादी समुहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दिपक सिंहलगायत पक्राउ परेपछि नवराज सुवेदीले बिज्ञप्ती जारी गरी बन्दको घोषणा गरेका हुन् । थापा र सिंहलगायतका पक्राउ परेका सात जनालाई भने प्रहरीले रिहा गरिसकेको छ ।

पछिल्लो ४/५ वर्षदेखि नेपालमा बन्द र आम हड्ताल कसैले आयोजना गरेको छैन । त्यसअघि भने राजनीतिक दलहरु मात्र होइन, सामाजिक आन्दोलनकारीलेसमेत उपत्यका र नेपाल बन्द आयोजा गर्ने गर्थे । विभिन्न दल र समुहहरुले बन्द आयोजना गर्न थालेपछि जनस्तरबाट त्यसको विरोध समेत भएको थियो ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष थापा,राप्रपा सांसद सिंह लगायतलाई प्रहरीले अमानवीय तवरले पक्राउ गरेको भन्दै सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको जनाएको छ ।

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु,’सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रबाट प्रदर्शन गर्दै बालुवाटारतर्फ प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष थापासहितका नेता,कार्यकर्ता पक्राउ परेका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  ९ : ५१ बजे