३ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025

६१ केजी सुन तस्करीका आरोपी अमला रोका पक्राउ



माओवादी नेताहरुसँग हिमचिम रहेको बताइएको सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोका पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रोकालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनी ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिससमेत जारी गरिएको थियो ।

ठमेलस्थित होटेल भियना चलाउने उनी सुनकाण्डमा पक्राउ परेका बेल्जियन नागरिक दाबा छिरिङका श्रमती हुन् । राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।

अमला रोल्पाकी माओवादी नेतृ समेत हुन् । रोकासँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए । रोकासहित तीन चिनियाँ नागरिकसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको पाइएको पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसमेत विवादमा मुछिएका थिए । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले उनको समेत बयान लिएको थियो ।

प्रहरीका अनुसार, २०७६ माघ १ गते दावाकी श्रीमती अमला रोका र तीन चिनियाँ नागरिकसँग दिपेश गोसाइकुण्ड गएका थिए । २०७६ को पुसमा नेपालमा बसेर अपराध गरिरहेका चिनियाँ नागरिकमाथि सीआईबीले विशेष अपरेशन चलाएको थियो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : २० बजे