माध्यमिक शिक्षाको अन्तिम तह कक्षा १२ को परीक्षामा पछिल्ला पाँच वर्षयताकै उत्कृष्ट नतिजा आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण दरमा ९ प्रतिशत अंकको सुधार देखिएको छ ।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९६ हजार ३४७ विद्यार्थी सहभागी भएका मध्ये ६१.१९ प्रतिशत अर्थात् २ लाख ४२ हजार ४६५ विद्यार्थी उत्तीर्ण भएका छन् । आंशिकतर्फ १ लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ३६.१४ प्रतिशत अर्थात् ४१ हजार ८४० जना उत्तीर्ण भएका छन् ।
२०७८ सालदेखि लागू गरिएको लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउन नसकेमा ‘ननग्रेड’ प्राप्त हुन्छ । यसपटक नियमिततर्फ १ लाख ५३ हजार ८८२ र आंशिकतर्फ ७२ हजार ८०० विद्यार्थीले ननग्रेड पाएका छन् ।
शिक्षाविद् धनञ्जय शर्माले नतिजा सुधारोन्मुख भए पनि गुणस्तर भने अझै सन्तोषजनक अवस्थामा पुग्न नसकेको बताए । “नतिजा सन्तोषजनक देखिए पनि सिकाइ स्तरमा खासै सुधार देखिएको छैन,” उनले भने, “विशेषतः अंग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरैले ननग्रेड पाएका छन् ।”
उनका अनुसार आंशिक परीक्षार्थीमा ननग्रेडको संख्या उच्च हुनुले शिक्षाको गुणस्तरप्रति प्रश्न उठाउँछ । “परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षणको प्रक्रियाले पनि परिणाममा प्रभाव पार्छ,” शर्मा भन्छन्, “संख्यात्मक रुपमा सुधार भए पनि गुणात्मक सुधार अझै आवश्यक छ ।”
शिक्षाविद् बालचन्द्र लुइँटेलले भने नतिजा सुधार हुनु सरकार र शिक्षकको मेहनतको फल भएको बताए । “स्थानीय तहदेखि संघसम्मको लगानी र प्रतिबद्धताको असर देखिएको हो,” उनले भने, “तर यति भएर शिक्षा प्रणाली सुधार भयो भन्न सकिन्न ।”
उनले संख्यात्मक सुधारलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँदै भने, “नतिजा सुधार हुनु परीक्षा संचालन राम्रो नभएको प्रमाण होइन । मेहनत गरे नतिजा आउँछ भन्ने विश्वास विद्यार्थी र शिक्षकमा पैदा गर्नुपर्छ ।”
शिक्षाविद् विद्यानाथ कोइरालाले भने नतिजा संख्यामा मात्र खुसी हुने अवस्था नभएको धारणा राखे । “हामीले विद्यार्थीलाई नेपालमै टिकाउने व्यवहारिक शिक्षा दिन सकेका छैनौँ,” उनले भने, “कक्षा १२ पछि अधिकांश विद्यार्थी विदेशिने क्रम बढ्दो छ, त्यसलाई नियन्त्रण गर्न आवश्यक छ ।”
उनले यान्त्रिक नतिजामा मात्र केन्द्रित नभई सिकाइको गुणस्तर र सीप विकासतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिए । “विद्यार्थीलाई नेपालमै अवसर देखाउने शिक्षा प्रणाली बनाउन सक्नुपर्छ,” उनले जोड दिए ।
राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडेड भएका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक परीक्षा सञ्चालन गर्ने जनाएको छ । नियमिततर्फका परीक्षार्थीमध्ये बढीमा दुई विषयमा ननग्रेडेड वा अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन् ।
त्यस्तै, परीक्षाफलमा कुनै विषयको ग्रेडप्रति असन्तुष्टि भएकाले पुनर्योग गर्न चाहने विद्यार्थीले साउन २० गतेदेखि २९ गतेसम्म बोर्डको वेबसाइटमार्फत प्रतिविषय ५०० रुपैयाँ दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।
नतिजाको संक्षेप:
कुल सहभागी: ५ लाख १० हजार ९८७
कुल उत्तीर्ण: २ लाख ८४ हजार ३०५
उत्तीर्ण दर (नियमित): ६१.१९%
उत्तीर्ण दर (आंशिक): ३६.१४%
४ जीपीए नजिक (३.६–४): १३ हजार ५०२ विद्यार्थी
उच्चतम समूह (२.८–३.२): ९४ हजार २६८ विद्यार्थी
२०७८ मा ४६.४४% मात्र उत्तीर्ण भएकोमा यो वर्ष ६१.१९% पुग्नु सकारात्मक भए पनि गुणस्तरीय सुधारको चुनौती कायमै रहेको शिक्षाविद्हरू बताउँछन् ।









