७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

प्रधानमन्त्री वालेन्द्र शाह न्युयोर्कमा, बिहिबार सम्बोधन



संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह न्युयोर्क आइपुगेका छन्।

जोन एफ केनेडी (जेएफके) अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहलाई परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधी राम भण्डारीले न्यानो स्वागत गरेका थिए। प्रधानमन्त्री शाहको टोलीमा प्रमुख सल्लाहकार कुमार बेनसहित अन्य सदस्यहरू सहभागी छन्।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री शाहले आजै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ। त्यसका साथै उनी न्युयोर्कस्थित नेपाली नियोगद्वारा आयोजना गरिने स्वागत समारोहमा पनि सरिक हुनेछन्। न्युयोर्कमा उच्चस्तरीय कुटनीतिक भेटघाट र महासभाका अन्य सत्रहरूमा उनको सहभागितालाई लिएर चासो बढेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय छलफलअन्तर्गत सम्बोधन गर्ने कार्यसूची छ। बिहीबारको दिवासत्र (नेपाली समय अनुसार शुक्रबार बिहान ४/५ बजेतिर) महासभामा बोल्ने १८ देशका प्रमुखहरूमध्ये प्रधानमन्त्री बालेनको पालो १७ औं नम्बरमा रहेको छ। जलवायु परिवर्तनका कारण ठूलो विनाशको चपेटामा परेको नेपालको अधिकार र प्रभावित देशहरूलाई न्याय दिलाउने विषयमा उनले विशेष तयारीका साथ महासभामा आफ्ना भनाइ राख्ने बताइएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १० : ४४ बजे