७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

देशभर भारी वर्षा र हिमपातको जोखिम, हिमाली पदयात्रा र लामो दूरीको यात्रा स्थगित गर्न मौसम विभागको आग्रह



नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित भएको नयाँ मौसमी प्रणालीको संयुक्त प्रभावका कारण आगामी केही दिन देशभर भारी वर्षा र हिमपातको जोखिम बढेको छ। उत्तर अण्डमान सागर आसपास विकसित भई बंगालको खाडीको मध्य भूभागमा रहेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेको र सो प्रणाली बुधबार राति वा बिहीबार बिहानसम्म जमिनमा प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि तीव्र बन्दै गएको छ।

मौसममा आएको यो परिवर्तनलाई ध्यानमा राख्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी हिमाली क्षेत्रका लागि ‘रेड अलर्ट’ समेत घोषणा गरेको छ। भारी वर्षा र हिमपातको उच्च जोखिम रहेकाले पदयात्राका लागि हिमाली क्षेत्र पुगिसकेकाहरूलाई तत्काल सुरक्षित स्थानमा फर्कन र जाने तयारीमा रहेकाहरूलाई यात्रा स्थगित गर्न महाशाखाले आग्रह गरेको छ। विशेषगरी अन्नपूर्ण, मनास्लु सर्किट, अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल र तिलिचो ताल जस्ता प्रसिद्ध गन्तव्यहरू अवस्थित गण्डकी प्रदेशको हिमाली क्षेत्रमा पर्यटक, गाइड तथा भरियाहरूको बाक्लो उपस्थिति रहने भएकाले सो क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।

यसैगरी, असोज ९ देखि ११ गतेसम्म हुन सक्ने निरन्तरको वर्षाका कारण बाढी र पहिरोको ठूलो जोखिम रहने भएकाले महाशाखाका मौसमविद्हरूले सर्वसाधारणलाई लामो दूरीको यात्रा समेत स्थगित गर्न अनुरोध गरेका छन्। मौसमविद् हरिप्रसाद ढकालका अनुसार पानी देशैभरि परे पनि अति भारी वर्षा र अति भारी हिमपातको मुख्य सम्भावना गण्डकी र लुम्बिनी प्रदेशमा रहेको छ। महाशाखाका अनुसार आगामी शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना छ भने मधेश, कोशी, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको आकलन गरिएको छ।

मौसम विभागले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई सम्भावित मौसमी विपत्तिबाट बच्न पूर्वतयारीमा जुट्न अपिल गरेको छ। मौसमविद् ढकालले हिमाली भेगमा पदयात्रामा ननिस्कन, तोकिएका दिनहरूमा लामो दूरीको यात्रा नगर्न र नियमित रूपमा मौसम बुलेटिन अध्ययन गर्न सुझाव दिएका छन्। साथै मौसमसम्बन्धी थप अद्यावधिक जानकारी आवश्यक परेमा महाशाखाको टोल-फ्री नम्बर ११५५ मा फोन गरी १ थिचेर जानकारी लिन सकिने व्यवस्था समेत मिलाइएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १० : ४१ बजे