सरकारले पर्यटकीय नगरी पोखरालाई काठमाडौंसँग दुई घण्टामै जोड्ने गरी काठमाडौं–पोखरा द्रुतमार्ग (एक्सप्रेस–वे) निर्माणको प्रारम्भिक तयारी अघि बढाएको छ। सो द्रुतमार्गको पूर्वसम्भाव्यता तथा लागत अध्ययनका लागि पूर्वाधार विकास मन्त्रालय र सडक विभागले गत साउनमा एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई औपचारिक प्रस्ताव पेस गरेका छन्।
सडक विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलका अनुसार नेपालको उक्त प्रस्तावप्रति एआईआईबी सकारात्मक देखिए पनि औपचारिक जवाफ भने आउन बाँकी छ। बेइजिङमा मुख्यालय रहेको एआईआईबीले यसअघि नै सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–बुटवल सडक खण्ड स्तरोन्नतिका लागि २० लाख अमेरिकी डलर अनुदान दिने जनाइसकेको छ। सो निर्णयलाई २०८२ माघ ८ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ भने सडक विभागले डीपीआरका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पनि गत असार ४ गते प्रतिनिधिसभा बैठकमा काठमाडौं–पोखरा दुई घण्टामै पुग्ने द्रुतमार्गको कार्ययोजना मन्त्रालयले अघि बढाउने प्रतिबद्धता जनाएका थिए।
हाल काठमाडौँ–मुग्लिङ–पोखरा सडकको दूरी करिब २०० किलोमिटर रहेको र भौगोलिक अवस्थाका कारण यात्रा गर्न ५ देखि ६ घण्टा लाग्ने गरेको छ। प्रस्तावित द्रुतमार्ग भने नदी किनारैकिनार घुम्नुको साटो सुरुङमार्ग र पुलहरू निर्माण गरी सिधा बनाइनेछ, जसले गर्दा दूरी कम्तीमा २० देखि २५ किलोमिटर छोटिनेछ। साथै, ८० देखि ९० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा सवारी चलाउन सकिने भएकाले यात्रा अवधि घटेर २ देखि साढे २ घण्टामा सीमित हुने विश्वास गरिएको छ।
पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएपछि मात्र यकिन लागत थाहा हुने भए पनि पूर्वाधार विकास मन्त्रालयले यो आयोजना निर्माणमा ४ देखि ५ खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ। ७० किलोमिटर लामो काठमाडौं–तराई द्रुतमार्गको लागत २ खर्ब रुपैयाँ रहेकाले यो आयोजना त्योभन्दा दोब्बर लामो हुने हुँदा ५ खर्ब आसपास लागत लाग्ने आँकलन गरिएको छ।









