१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

सहकारी ठगीमा मुछिएकी नेतापत्नीकोइरालासँग एक करोड धरौटी माग्ने आदेश



सहकारी ठगीको अभियोग लागेकी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग उच्च अदालत विराटनगरले एक करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ ।

मोरङको धनपालथानस्थित उमागौरी सहकारी प्रकरणमा संलग्न भएको अभियोगमा यसअघि जिल्ला अदालत मोरङले कोइरालालाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । सो आदेशविरुद्ध दायर पुनर्विचार निवेदनमा बिहीबार उच्च अदालतले नयाँ आदेश जारी गरेको हो ।

वैशाख ११ गते उच्च अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासमा राय फरक परेपछि, तेस्रो न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासमा मुद्दा पुगेको थियो । अर्यालले दुबै न्यायाधीशको आधा-आधा राय स्वीकार गर्दै आदेश जारी गरेका हुन् ।

यसअन्तर्गत अञ्जला कोइरालासहित प्रतिवादी रोशन राजवंशी, ज्योति बास्कोटा र सन्तलाल खवासलाई एक–एक करोड धरौटीमा रिहा गर्न आदेश भएको छ । यसअघि जिल्ला अदालतले अञ्जलासँग १० लाख, राजवंशीलाई थुनामा पठाउने, र बास्कोटा तथा खवाससँग ५–५ लाख धरौटी माग्ने आदेश गरेको थियो ।

तर लक्ष्मी कार्की, सुमन लोहनी र मनोज सोनुको हकमा भने जिल्ला अदालतकै आदेश सदर गरिएको छ । कार्कीलाई ५० हजार, लोहनीलाई २ लाख र सोनुलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश यथावत राखिएको छ ।

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको करिब २२ करोड ४८ लाख रुपैयाँ अपचलन गरेको आरोपमा अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । उनी तत्कालीन सञ्चालक समितिकी सदस्य थिइन् ।

सरकारी वकिलको कार्यालय मोरङले २०८१ मंसिर २७ गते सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध बिगोबमोजिम जरिवाना र ६ देखि ८ वर्षसम्मको कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरेको थियो ।

अभियोगपत्र दायर गर्दा प्रतिवादी रोशन राजवंशी मात्र अदालतमा पेस भएका थिए भने अन्य प्रतिवादी पछि उपस्थित भएका थिए । अझै धेरैजना प्रतिवादी फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  १० : ३० बजे