डडेलधुराको नवदुर्गा गाउँपालिका–५ चौड भित्री कच्ची सडकखण्डमा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत ४२ वर्षीय गणेशबहादुर साउदको मृत्यु भएपछि मृतक संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीका अनुसार बिहान करिब ९ बजे ठाँटाबजारबाट सदरमुकामतर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप सडकबाट अनियन्त्रित भई दुर्घटना भएको हो ।
मृतकहरूमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी, ७२ वर्षीया कलावती साउद र अस्पतालमा निधन भएका गणेशबहादुर साउद रहेका छन् ।
दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये चालक रामबहादुर साउदलाई थप उपचारका लागि भारत लगिएको प्रहरीले जनाएको छ ।









