सरकारविरुद्धको ‘जेनजी आन्दोलन’ सोमबार नयाँ बानेश्वरमा हिंसात्मक मोड लिँदै संघीय संसद भवन आक्रमणसम्म पुगेको छ । बिहान शान्तिपूर्ण रूपमा सुरू भएको प्रदर्शन दिउँसो उग्र बन्दै जाँदा संसद भवनको २ नम्बर गेटमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
प्रहरीसँगको दोहोरो झडपबीच आक्रोशित भीडले ढुंगामुढा गर्दै संसद भवनको पर्खाल भत्काएपछि केही समूहले भाँचिएका कुर्सीका टुक्रा र प्लेकार्डहरू जम्मा गरी गेटनजिकै आगो लगाए । केहीबेरमै आगोले ठूलो रूप लिँदै संसद भवनको गेटको भागलाई छोएको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा र रबरको गोली प्रहार गरेको छ । तर भीड संसद भवनका तीनै गेटअगाडि हाबी बनेको छ । सुरक्षाकर्मीले रबरको गोली चलाउँदा एक प्रदर्शनकारी गम्भीर घाइते भई उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको छ । अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार ७०–८० जना घाइते उपचाररत छन् ।
कर्फ्यू आदेश जारी
प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
कर्फ्यूको दायरा बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, पूर्व मिन भवन–शान्तिनगर हुँदै तीनकुनेसम्म, उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माविसम्म र दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म फैलिएको छ।
प्रमुख जिल्ला अधिकारी छवि रिजालले गृहमन्त्री रमेश लेखकसँग परामर्शपछि कर्फ्यू लगाउने निर्णय भएको जानकारी दिएका छन्।
राजधानीका संवेदनशील क्षेत्रहरुमा पनि कर्फ्यु आदेश जारी गरिएको छ ।
पत्रकार समेत घाइते
प्रहरीको रबरको गोली लागेर पत्रकारहरू समेत घाइते भएका छन् । नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, कान्तिपुर टेलिभिजनका क्यामेराम्यान श्याम श्रेष्ठ र नेपाल प्रेसकर्मी उमेश कार्की घाइते भएका छन् ।
घुसपैठको आरोप
जेनजी (सन् १९९७–२०१२ मा जन्मिएका) पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध देशभर प्रदर्शन गरेका थिए। आयोजकले कलेज ड्रेसमै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आह्वान गरे पनि दुर्गा प्रसाईँ समूह, रास्वपा, राप्रपा र माओवादीसम्बद्ध व्यक्तिहरूको घुसपैठका कारण आन्दोलन हिंसात्मक बनेको दाबी गरिएको छ।
सामाजिक सञ्जालमार्फत स्वतःस्फूर्त रूपमा सुरु भएको प्रदर्शन पहिलो दिनमै अनियन्त्रित बनेपछि ‘जेनजी नेपाल’ नामक फेसबुक पेजले सबैलाई तत्काल सुरक्षित रूपमा घर फर्कन आग्रह गरेको छ।











