जेनजी आन्दोलनको करिब डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकार आइतबार तेस्रोपटक पुनर्गठन गरिएको छ। प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
नवनियुक्त मन्त्रीहरूमा डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री कार्कीले सुरुमा चार जनाको नाम सिफारिस गरेकी थिइन्, तर खगेन्द्र सुनारको नाम विवादमा आएपछि हटाइएको र गणपतिलाल श्रेष्ठले आइतबार शपथ नलिएको हो ।
यससँगै प्रधानमन्त्री कार्की सहित मन्त्रिपरिषद् अब १० सदस्यीय भएको छ। कार्कीको सचिवालयसँग नजिक एक स्रोतले भन्यो, “एकाध महत्वपूर्ण मन्त्रालयमा अझ मन्त्री थपिन सक्छन्, तर अब यही टिमले निर्वाचनसम्म सरकार सञ्चालन गर्नेछ।”
स्मरण रहोस्, करिब १२ वर्षअघि दोस्रो संविधानसभा निर्वाचन गराउनका लागि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा १२ जना मन्त्रीहरू रहेका थिए। त्यतिबेला अधिकांश पूर्व–प्रशासनिक अधिकारी थिए, अहिले पनि सो संख्यामा मन्त्री बनाउने तयारी भइरहेको बताइएको छ।
वर्तमान मन्त्रिपरिषद्मा विविध पृष्ठभूमिका व्यक्तिहरू समावेश छन्। अर्थमन्त्री रामेश्वर खनाल पूर्व सचिव हुन्, पेशाले इन्जिनियर कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्, र अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन्।
त्यसैगरी, नयाँ स्वास्थ्यमन्त्री डा. सुधा शर्मा पनि सोही मन्त्रालयबाट १४ वर्षअघि अवकाश पाएकी पूर्व सचिव हुन्। त्यतिबेला वैचारिक मतभेदका कारण मन्त्रीहरूसँग असहमत भएर राजीनामा दिएकी उनले पछि संयुक्त राष्ट्रसंघीय निकायहरूमा पनि काम गरेकी थिइन्।
गृहमन्त्री ओमप्रकाश अर्याल पेशाले अधिवक्ता हुन् भने सञ्चारमन्त्री जगदीश खरेल पत्रकारिताबाट आएका हुन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सूचना–प्रविधि र आविष्कारमार्फत ग्रामीण विकासमा योगदान दिइरहेका छन्, र कृषिमन्त्री मदन परियार सामाजिक अनुसन्धान र विकासका क्षेत्रमा सक्रिय छन्।
नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सामाजिक अभियन्ताका रूपमा चिनिन्छन्। कोरोना महामारीका समयमा उनले विपन्न र विपतमा परेकाहरूका लागि निःशुल्क खाना वितरण गरेका थिए। साथै, आर्थिक अभावमा परेकाहरूका लागि ‘कपडा बैंक अभियान’ सुरु गरेका उनले ‘हण्ड्रेड ग्रुप’ मार्फत् विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
यस पुनर्गठनसँगै सरकारमा महिला, आदिवासी, दलित तथा मधेशी समुदायको सन्तुलित प्रतिनिधित्व भएको देखिन्छ। बब्लु गुप्ताको समावेशीकरणले जेन–जी आन्दोलनका मागहरू सन्तुष्ट पार्ने प्रयास भएको बुझिन्छ। मधेशी दलित समुदायबाट रामजी रामको नाम चर्चा भए पनि अन्ततः समावेश हुन सकेन।









