३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा अध्यावधिक विवरण बुझायो (नामावलीसहित)



ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङसँग सम्बद्ध उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा आफ्नो अध्यावधिक विवरण पेस गरेको छ । पार्टीले ‘बिजुलीको चिम’ चुनाव चिन्ह माग गरेको छ।

साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा निवेदन दिएको उक्त पार्टीलाई पुनर्गठन गर्दै पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति गठन गरिएको पार्टीका जितराम वाइबाले नेपालखबरलाई जानकारी दिएका छन् ।

यो नयाँ दर्ता नभइ, साउन २७ गते नै दर्ता भइसकेको उज्यालो नेपाल पार्टीको कार्यसमिति मात्र अध्यावधिक गरिएको हो ।

पार्टीको अध्यावधिक विवरणमा डा. तारा जोशी (डडेलधुरा प्रदेश सभा–२ बाट निर्वाचित स्वतन्त्र सांसद), प्रा. डा. महेन्द्र लावती, रिमा विश्वकर्मा, खड्गबहादुर बस्नेत, टासी ल्हाजोमलगायतका नाम समावेश छन्।

टासी यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा पर्यटनमन्त्री बन्ने चर्चामा आएकी थिइन्, तर सामाजिक सञ्जालमा भएको आलोचनापछि त्यो प्रक्रिया रोकिएको थियो।

सुशीला कार्की नेतृत्वको चुनावी सरकारले तीन वटा मन्त्रालय सम्हालेका कुलमान घिसिङ भने अहिले पार्टीको कार्यसमितिमा संलग्न छैनन्। उनले चुनावअघि मात्र सभापति बनेर पार्टीको नेतृत्व लिने र प्रतिनिधि सभा निर्वाचनमा भाग लिने तयारी गरेको बताइएको छ।

जेन–जी पार्टीका किरण विक पनि उज्यालो नेपाल पार्टीमा समावेश भएका छन्। तर पूर्वसांसद सुमना श्रेष्ठ र ‘हामी नेपाल’का संयोजक सुदन गुरुङ भने हाल पार्टीमा सामेल भएका छैनन् ।

मंगलबार बिहानमात्रै कुलमानले सुमना श्रेष्ठ र सुदन गुरुङसँग आफ्नो निवासमा छलफल गरेका थिए। ती दुवै जना सुरुका दिनदेखि नै कुलमानकै नेतृत्वमा नयाँ दल गठनका तयारीमा सक्रिय थिए। तर, मन्त्री पदमा रहेका घिसिङले तत्काल आफ्नो नाममा दल दर्ता नगरी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा चुनावकै छेकोमा मात्र औपचारिक रूपमा पार्टीमा सहभागी हुने बताएका छन्।

निर्वाचन आयोगमा पेश गरिएको उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा सदस्यहरु:

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार  ९ : ३९ बजे