आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक प्रणालीमा भाग लिन इच्छुक राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म आवेदन दिन सक्नेछन्। प्राप्त निवेदनहरूको अध्ययन गरी मंसिर ২৬ गतेसम्म स्वीकृत गर्ने आयोगको तयारी रहेको उनले बताए।
कार्यक्रमअनुसार आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची पेश गर्ने समय निर्धारण गरिएको छ। त्यसपछि माघ ४ गते प्रारम्भिक बन्दसूची प्रकाशित हुनेछ। भट्टराईका अनुसार प्रारम्भिक सूची विरुद्ध पर्ने दाबी–विरोध तथा उजुरीको छानबिन सम्पन्न गरी माघ २० गते अन्तिम बन्दसूची प्रकाशित गरिनेछ।
विद्यमान कानुनअनुसार प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १६५ जना प्रत्यक्षतर्फबाट र ११० जना समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत चयन गरिने व्यवस्था छ। प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने निर्वाचन आयोगले जनाएको छ।








