१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

कूटनीतिक नियोगका प्रमुखहरूसँग प्रधानमन्त्री शाह: पारस्परिक लाभ र शान्तिमा जोड



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँग सामूहिक शिष्टाचार भेट गर्दै मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो सरकार उत्सुक रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहले नेपाल सरकारले सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिने र पारस्परिक लाभमा आधारित साझेदारीलाई अझ बलियो बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारे ।

भेटका अवसरमा प्रधानमन्त्री शाहले नेपालले सधैं सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको उल्लेख गरे । उनले भने, “हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ। नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकोमा हामी सबै मित्र राष्ट्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।”

विश्वका विभिन्न भागमा जारी द्वन्द्वहरूप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्रीले द्वन्द्वको मारमा सधैं सर्वसाधारण नागरिक पर्ने भएकाले शान्तिलाई साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिए । “शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ भन्नेमा हामी सबै सहमत छौँ र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु,” उनले भने । साथै, विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्रमुख प्राथमिकतामा रहेको विषयलाई पनि उनले विशेष जोडका साथ उठाए ।

प्रधानमन्त्री शाहले नयाँ सरकार गठन हुनु भनेको विगतका नीतिहरूबाट विच्छेद हुनु नभई निरन्तरता भएको स्पष्ट पारे । उनले भने, “हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ ।”

सरकारले लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने र राष्ट्रिय हित अनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा समेट्ने लक्ष्य राखेको उनले बताए । प्रधानमन्त्रीले विकास, व्यापार, लगानी, जलवायु परिवर्तनको सामना र जनस्तरको सम्बन्ध सुदृढ बनाउन सबै मित्र राष्ट्रहरूसँग सहकार्य गर्न सरकार इच्छुक रहेको जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १० : १७ बजे