सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णय स्वास्थ्य क्षेत्रमा कार्यान्वयनकै चरणमा विवादित बनेको छ। मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार शनिबार र आइतबार बिदा दिने व्यवस्था अस्पतालमा पनि लागू हुने भनिएपछि सेवा सञ्चालनबारे अन्योल सिर्जना भएको हो ।
निर्णय कार्यान्वयन सुरु नहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २७ मा नयाँ निर्देशन जारी गर्दै आइतबार समेत स्वास्थ्य सेवा सुचारु राख्न आग्रह गरेपछि अस्पतालहरू दबाबमा परेका छन् । यसले देशभरका स्वास्थ्य संस्थामा फरक–फरक अभ्यास देखिएको छ भने चिकित्सकहरू आक्रोशित बनेका छन् ।
काठमाडौंका प्रमुख अस्पतालहरूबीच नै आइतबार सेवा सञ्चालनबारे मतभेद देखिएको छ । त्रिवि शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालयको निर्णयअनुसार आइतबार आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । अस्पतालले यसअघि नै सूचना जारी गर्दै ओपीडी तथा प्रशासनिक सेवा बन्द रहने जनाएको थियो ।
यसको विपरीत वीर अस्पतालले भने आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म नियमित सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनशक्ति अभाव देखाउँदै शनिबार र आइतबार दुवै दिन आकस्मिकबाहेकका सेवा बन्द गर्ने जनाएको छ । प्रतिष्ठानका अनुसार हालको जनशक्तिले आइतबार ओपीडी सञ्चालन गर्न सम्भव छैन ।
यस्तै, हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको अस्पतालले आइतबार सीमित समय मात्र सेवा दिने निर्णय गरेको छ । अस्पतालले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै ओपीडी सञ्चालन गर्ने र प्रशासनिक सेवा बन्द राख्ने जनाएको छ ।
ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पाटन अस्पतालले भने आइतबार सेवा नियमित राख्ने जनाएको छ । अस्पतालका निर्देशक डा. रवी शाक्यका अनुसार संस्थामा पहिलेदेखि नै सातामा दुई दिन बिदा दिने अभ्यास रहेकाले आइतबार सेवा सञ्चालनमा समस्या नपर्ने बताइएको छ ।
सरकारी निर्णयप्रति नेपाल चिकित्सक संघले असहमति जनाएको छ । संघका अनुसार हालको जनशक्ति अवस्थाले आइतबार ओपीडी सेवा सञ्चालन गर्न सम्भव छैन । संघले जनशक्ति थप नगरी यस्तो निर्णय कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको छ ।
चिकित्सकहरूले पनि सरकारको निर्णयलाई अव्यवहारिक भन्दै आलोचना गरेका छन् । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. शेषराज घिमिरेले पूर्वतयारी विना यस्तो निर्देशन दिनु गलत भएको बताए । उनले अस्पतालमा चिकित्सकको अभावका बीच सट्टा बिदा मिलाएर सेवा सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए ।
पूर्वउपकुलपति डा. मंगलब रावलले समेत सरकारको निर्णय चिकित्सकलाई ‘पेलेर’ गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था अध्ययन नगरी गरिएको निर्णयले सेवा प्रवाहमै असर पार्ने चेतावनी दिए ।
वीर अस्पतालका डा. ढुण्डी पौडेलले पनि आइतबार सेवा सञ्चालन गर्ने निर्देशन ‘हचुवा र अव्यावहारिक’ भएको टिप्पणी गरेका छन् । चिकित्सकहरूका अनुसार उनीहरू पहिले नै अतिरिक्त समय काम गरिरहेका छन् र यस्तो अवस्थामा थप दायित्व थोपर्नु उचित नहुने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयको निर्णयपछि देशभरका अस्पतालहरूमा एकरूपता देखिएको छैन । कतिपय अस्पतालले सेवा सञ्चालन गर्ने निर्णय गरेका छन् भने कतिपयले जनशक्ति अभाव र व्यवस्थापन चुनौती देखाउँदै सेवा सीमित वा बन्द गरेका छन् । यसले स्वास्थ्य सेवा प्रवाहमै असर पर्ने चिन्ता बढेको छ ।








