११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न महानगरको ६ बुँदे अल्टिमेटम, शनिबारदेखि डोजर चल्ने



काठमाडौँ महानगरपालिकाले खोला–नदी किनारमा रहेका सुकुम्बासी बस्तीहरू खाली गराउन माइकिङ सुरु गर्दै ६ बुँदे अल्टिमेटम जारी गरेको छ । बिहीबार साँझदेखि थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा महानगरको टोलीले सूचना प्रवाह गरेको हो ।

महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीका अनुसार २४ घण्टाभित्र बस्ती खाली गर्न भनिएको छ । “यथाशीघ्र बस्ती छाडेर सार्वजनिक स्थान खाली गरिदिन भनेका छौं,” उनले बताए । तोकिएको समयभित्र नछाडे वैशाख १२ गते बिहान ६ बजेदेखि घर–टहराहरू भत्काइने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गरिने चेतावनी दिइएको छ ।

महानगरले माइकिङमार्फत ६ बुँदा सार्वजनिक गरेको छ । पहिलो, अवैध रूपमा बनाइएका घर–टहराहरू वैशाख ११ गते साँझ ७ बजेसम्म खाली गर्नू । दोस्रो, घरभित्रका सरसामान, लत्ताकपडा, घरपालुवा तथा पशुपन्छी सुरक्षित स्थानमा तत्काल सार्नू । तेस्रो, अपांगता भएका व्यक्ति, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकताका साथ अन्यत्र स्थानान्तरण गर्नू, जसका लागि महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोग लिन सकिनेछ ।

चौथो बुँदाअनुसार वैशाख १२ गते बिहानदेखि संरचना हटाइने र अवरोध गरे कानुनबमोजिम कारबाही गरिनेछ । पाँचौं, सम्बन्धित मन्त्रालयमार्फत वास्तविक भूमिहीन सुकुम्बासीहरूको लगत संकलन र स्क्रिनिङ तत्काल सुरु गरिनेछ । छैटौं, १० देखि १५ दिनभित्र पहिचान भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित व्यवस्था गर्ने तयारी गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले महानगरको माइकिङ कार्यलाई नेपाल प्रहरीले सुरक्षा दिइरहेको जानकारी दिए । “महानगरले माइकिङ थालेको छ, प्रहरी सुरक्षाको दृष्टिकोणले खटिएको छ,” उनले भने ।

यसअघि बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै सुकुम्बासी बस्ती हटाउने काम काठमाडौं उपत्यकाबाट सुरु गर्न निर्देशन दिएका थिए । प्रशासनले पहिलो चरणमा उपत्यकाका विभिन्न चार बस्तीमा डोजर चलाउने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ११ : १२ बजे