गरिबी र अशिक्षाले मानिसलाई कुन हदसम्म पुर्याउँछ भन्ने एउटा जीवित र मार्मिक उदाहरण ओडिसाको केओन्झार जिल्लामा देखिएको छ । यहाँका ५० वर्षीय जितु मुन्डाले आफ्नी मृत दिदीको बैंक खातामा रहेको रकम झिक्नका लागि जुन बाटो रोजे, त्यसले अहिले सारा देशलाई स्तब्ध बनाएको छ ।
घटनाको सुरुवात तब भयो जब जितु मुन्डाकी दिदी कालरा मुन्डाको गत जनवरी २६ मा मृत्यु भयो । दिदीको ओडिसा ग्रामीण बैंकमा रहेको झन्डै २० हजार भारु झिक्न जितु पटक-पटक बैंक धाए, तर हरेक पटक उनलाई रित्तो हात फर्काइयो । बैंकका कर्मचारीहरूले कि त खातावाला स्वयं उपस्थित हुनुपर्ने वा आधिकारिक मृत्यु दर्ता प्रमाणपत्र ल्याउनुपर्ने नियम सुनाइरहे । कानुन र प्रक्रियाको सामान्य ज्ञान समेत नभएका जितुले कर्मचारीको कुरालाई यसरी बुझे कि उनले आफ्नी दिदीको मृत्यु भइसकेको कुरा जसरी पनि प्रमाणित गर्नैपर्छ ।
त्यसपछि जितुले एउटा यस्तो कठोर निर्णय लिए जुन सुन्दा जो कोहीको आङ सिरिङ्ग हुन्छ । उनले दिदीको शव गाडिएको ठाउँमा गएर चिहान खने र त्यहाँ बाँकी रहेका हड्डी तथा अवशेषहरूलाई एउटा बोरामा संकलन गरे । ती अवशेषहरू बोकेर उनी करिब ३ किलोमिटरको पैदल यात्रा तय गर्दै बैंक पुगे। जब उनले बैंकको काउन्टरमा दिदीको कंकाल प्रदर्शन गरे, त्यहाँ उपस्थित ग्राहक र कर्मचारीहरूमा खैलाबैला मच्चियो । कसैले डरले आँखा चिम्ले त कसैले यो दृश्यलाई क्यामरामा कैद गरे ।
यता बैंक प्रशासनले भने आफूहरूले कुनै दुर्व्यवहार नगरेको र केवल कानुनी प्रक्रियाको कुरा मात्र गरेको दाबी गरेको छ । यद्यपि, एउटा सामान्य नागरिकले मृत्युको प्रमाण दिनका लागि कंकाल नै बोकेर आउनुपर्ने अवस्था सिर्जना हुनुले हाम्रो प्रशासनिक संवेदनशीलता र ग्रामीण क्षेत्रमा व्याप्त बैंकिङ साक्षरताको कमीलाई नराम्रोसँग गिज्याइरहेको छ ।
अन्ततः प्रहरीको हस्तक्षेपपछि ती अवशेषहरूलाई पुनः सम्मानपूर्वक गाडिएको छ र स्थानीय प्रशासनले जितुलाई कानुनी कागजात बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यो घटनाले पैसाको अभाव र नियमको जन्जालले एउटा मानिसलाई कति विवश बनाउन सक्छ भन्ने गहिरो सन्देश छोडेको छ ।









