सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना भएको चार वर्ष पुगेकै अवसरमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन गर्ने मिति र स्थान तय गरेको हो ।
रास्वपा २०७९ असार ७ गते स्थापना भएको थियो । यसअघि पटक–पटक महाधिवेशनको मिति तोकिए पनि विभिन्न कारणले स्थगित हुँदै आएको थियो । पछिल्लोपटक फागुनमा तय गरिएको महाधिवेशन निर्वाचनका कारण सारिएको थियो ।
फास्ट ट्र्याकमा महाधिवेशन
रास्वपाले सीमित समयमै तल्लो तहका अधिवेशन सम्पन्न गरेर ‘फास्ट ट्र्याक’ बाट महाधिवेशन गर्ने रणनीति अपनाएको छ । पार्टीको निर्णयअनुसार कुनै पालिकाका ३० प्रतिशत वडामा अधिवेशन सम्पन्न भए पालिका अधिवेशन गर्न सकिनेछ । त्यस्तै, जिल्लाका ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भए जिल्ला अधिवेशन अघि बढाउन सकिने व्यवस्था गरिएको छ ।
निर्वाचन समितिका सचिव भूमिनन्द बरालका अनुसार सबै तहको अधिवेशन शतप्रतिशत सम्पन्न नभए पनि महाधिवेशन रोकिने छैन ।
वडा र पालिका अधिवेशनको कार्यतालिका
तदर्थ समिति बनिसकेका वडाहरूमा जेठ ३ गते वडा अधिवेशन हुनेछ । २५ वैशाखअघि गठन भएका पालिका समितिहरूको अधिवेशन जेठ १० गते गर्ने तालिका तय गरिएको छ ।
त्यस्तै, जेठ ३ सम्म समिति बनेका वडाहरूमा जेठ १६ गते र जेठ १० सम्म समिति बनेका पालिकाहरूमा जेठ १७ गते अधिवेशन हुनेछ ।
जिल्ला अधिवेशन जेठ २३ र २४ गते गर्ने तय गरिएको छ। प्रदेश अधिवेशन जेठ २६ गतेदेखि असार १ गतेसम्म क्रमशः सातै प्रदेशमा सञ्चालन गरिनेछ ।
तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशन सम्पन्न भएका संरचनाबाट निर्वाचित प्रतिनिधि आउनेछन् भने अधिवेशन हुन नसकेका स्थानबाट तदर्थ समितिका पदाधिकारी सहभागी हुनेछन् ।
पालिकाबाट प्रतिनिधि छनोट सदस्य संख्याका आधारमा हुनेछ । गाउँपालिकाबाट न्यूनतम एक र महानगरपालिकाबाट अधिकतम चार प्रतिनिधि पठाउने व्यवस्था गरिएको छ ।
सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति
महाधिवेशनको तयारीका लागि सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । विभिन्न उपसमिति गठनको प्रक्रिया पनि सुरु गरिएको पार्टीले जनाएको छ ।
विधान संशोधनको तयारी
महाधिवेशनसँगै रास्वपाले विधान संशोधन गरी नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदललाई जेठ १० गतेभित्र संशोधन प्रस्तावको मस्यौदा बुझाउन निर्देशन दिइएको छ ।
रास्वपाले पहिलो महाधिवेशनलाई संगठनात्मक सुदृढीकरण र नयाँ नेतृत्व चयनको महत्त्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।








