६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

प्रधानन्यायाधीश शर्माले लिए शपथ, न्यायपालिकामा हस्तक्षेप स्वीकार नगर्ने घोषणा



मनोजकुमार शर्माले नेपालको प्रधानन्यायाधीशका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

आजै प्रधानन्यायाधीश नियुक्त भएका शर्माको शपथ समारोहमा रामसहायप्रसाद यादव, वालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थ व्यक्तिहरू उपस्थित थिए ।

शपथ ग्रहणपछि सर्वोच्च अदालतमा पदबहाली गर्दै प्रधानन्यायाधीश शर्माले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता र न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट पारे ।

उनले स्वतन्त्र र निष्पक्ष न्यायपालिका नै लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै आफ्नो पहिलो प्राथमिकता न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण्ण राख्नु रहेको बताए । संविधान, विधिको शासन, न्यायिक स्वतन्त्रता र नागरिकको न्यायप्रतिको विश्वासलाई थप सुदृढ बनाउनु आफ्नो प्रमुख दायित्व रहेको उनको भनाइ थियो ।

प्रधानन्यायाधीश शर्माले स्वतन्त्र, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण तथा संरक्षणलाई आफ्नो कार्यकालको मूल ध्येय बनाउने घोषणा गरेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ८ : ३० बजे