पर्सा जिल्ला अदालतले बीरगञ्जका मेयर राजेशमान सिंहलाई पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि मेयर सिंहसहित चार जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो ।
अदालतले प्रतिवादीहरूविरुद्ध सातदिने तथा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । सात दिनभित्र पक्राउ परे अदालतमा उपस्थित गराउन आदेश दिइएको छ। उक्त अवधिमा पक्राउ नपरे ३५ दिने सूचना तामेल गरी पक्राउ परे अदालतमा उपस्थित गराउन अदालतले जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएको छ ।
अदालतको अनुमति पश्चात् मेयर सिंहसहितका प्रतिवादीहरूको खोजी कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार पक्राउ परेपछि अदालतमा उपस्थित गराइनेछ ।
मेयर सिंहमाथि अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा जन्मदर्ता गराएको, त्यसैका आधारमा नागरिकता तथा राहदानी बनाइ विदेश पठाएको आरोप लागेको छ ।
झूटा विवरण पेश गरी नागरिकता र राहदानी बनाएको आरोपमा उनीहरूविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो । मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत किर्ते कागज सम्बन्धी दफा २७६ को उपदफा १, २ र ३ (ग) अनुसार सरकारी वा सार्वजनिक लिखत सम्बन्धी कसुर गर्नेलाई सात वर्षसम्म कैद तथा ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।









