२२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026

भारत भ्रमणपछि रवि लामिछानेको भनाइ: सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान हुन्छ



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारतबीचका सीमा विवादलगायत संवेदनशील विषयहरू कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्ने बताएका छन् ।

भारतको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्ता विषयमा ‘ढोल बजाएर’ नभई चरणबद्ध र जिम्मेवार ढंगले अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

पत्रकारहरूले विगतमा पत्रकारिता गर्दा ‘ग्रेटर नेपाल’ को नक्सा प्रयोग गरेर सीमा सम्बन्धी विषय उठाउने गरेका लामिछानेले भ्रमणका क्रममा सीमा विवादबारे कुरा उठाए वा उठाएनन् भन्ने प्रश्नमा उनले भने, “कुनै पनि विषय कूटनीतिक माध्यमबाट, डिप्लोमेटिक च्यानलहरूलाई सक्रिय बनाएर समाधान गर्नु महत्त्वपूर्ण हुन्छ । आफ्ना देशका हितका कुरा गर्ने समय, स्थान र प्रक्रिया फरक हुन्छ ।”

उनले पत्रकार, अभियन्ता र राजनीतिक नेतृत्वका भूमिकाहरू फरक–फरक हुने उल्लेख गर्दै राष्ट्रिय राजनीतिक दलको नेतृत्वले विषयहरूलाई संवेदनशीलता र जिम्मेवारीका साथ उठाउनुपर्ने बताए ।

मोदी र भाजपा नेतृत्वलाई नेपाल भ्रमणको निम्तो

सभापति लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिए । दुवै नेताले नेपाल भ्रमणप्रति सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ छ ।

“राजनीतिक दलहरूबीच भ्रमण र निमन्त्रणा आदानप्रदान सामान्य तथा निरन्तर चलिरहने प्रक्रिया हो,” उनले भने ।

प्रवासी नेपालीका समस्या समाधानमा जोड

भारतमा रहेका नेपाली नागरिकले भोगिरहेका समस्या सम्बन्धी प्रश्नमा लामिछानेले नेपाली दूतावास तथा सम्बन्धित सरकारी संयन्त्रलाई थप चुस्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए । स्वास्थ्योपचार, कागजी प्रक्रिया तथा दैनिक जीवनसँग सम्बन्धित समस्याहरू समाधान गर्न संस्थागत क्षमता अभिवृद्धि आवश्यक रहेको उनको भनाइ थियो ।

उनले प्रवासमा रहेका नेपालीहरूले झेल्ने समस्याहरू धेरै हदसम्म समान प्रकृतिका हुने उल्लेख गर्दै प्रभावकारी संयन्त्र सक्रिय भए समस्या उल्लेख्य रूपमा घटाउन सकिने बताए ।

मोदीसँग एक घण्टाभन्दा बढी वार्ता

भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामिछानेको एक घण्टाभन्दा बढी समय वार्ता भएको थियो । भेटमा द्विपक्षीय सम्बन्ध, विकास सहकार्य तथा आर्थिक साझेदारीका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा प्रधानमन्त्री मोदीले भारत नेपालको विकास, आर्थिक प्रगति र समृद्धिमा साझेदार बन्न इच्छुक रहेको दोहोर्‍याएका थिए । उनले नेपालले आफ्ना प्राथमिकता तय गरे भारतले त्यसमा हरसम्भव सहयोग गर्ने आश्वासन दिएको भेटमा सहभागी स्रोतहरूको भनाइ छ ।

मोदीले पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी विस्तारलाई नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण क्षेत्रका रूपमा औँल्याएको पनि बताइएको छ ।

‘विकास कूटनीति’ मार्फत सम्बन्ध विस्तार

लामिछानेले यसपटकको भ्रमणमा आफूहरूले ‘विकास कूटनीति’ लाई प्राथमिकतामा राखेको बताए । उनले नेपाल र भारतबीचको सम्बन्धलाई साझा सभ्यता, डिजिटल कनेक्टिभिटी र आर्थिक सहकार्यका आधारमा नयाँ उचाइमा पुर्‍याउन सकिने धारणा व्यक्त गरे ।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा भाजपा नेतृत्वसँग पनि उनको भेटवार्ता भएको थियो। भारतीय पक्षले रास्वपा नेतृत्वको सरकारसँग सहकार्य गर्दै नेपालको विकास प्राथमिकतामा साझेदारी गर्न इच्छुक रहेको सन्देश दिएको बताइएको छ ।

सीमा विवादबारे औपचारिक छलफल भएन

भेटवार्तामा सहभागी एक नेपाली अधिकारीका अनुसार नेपाल–भारत सीमा विवादका विषयमा औपचारिक छलफल भने भएको थिएन । यद्यपि दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई सकारात्मक ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसअघि भारतीय विदेश मन्त्रालयले पनि नेपाल–भारत सीमा सम्बन्धी विषयहरू द्विपक्षीय संयन्त्रमार्फत समाधान हुनुपर्ने धारणा सार्वजनिक गरेको थियो ।

मोदीको सन्देश: ‘नेपाल प्राथमिक साझेदार’

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत नेपाल भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत प्राथमिक साझेदार रहेको उल्लेख गर्दै नेपालसँगको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् ।

लामिछानेले पनि सामाजिक सञ्जालमार्फत मोदीसँगको भेट फलदायी रहेको उल्लेख गर्दै नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ चरणमा प्रवेश गराउने अवसर रहेको बताएका छन् ।

भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत पुगेका लामिछानेले भ्रमणका क्रममा भारतीय शीर्ष नेतृत्व, नेपाली प्रवासी समुदाय तथा विभिन्न राजनीतिक र कूटनीतिक व्यक्तित्वसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  १० : १४ बजे