२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

कांग्रेस असन्तुष्ट पक्षको भेलालाई देउवाले सम्बोधन गर्ने



काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आगामी २९ देखि ३१ साउनसम्म आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।

कांग्रेस नेता डा. शशांक कोइरालाले शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भेलालाई सम्बोधन गर्ने जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएकोप्रति खुशी व्यक्त गरे। उनका अनुसार पूर्वसभापति देउवाका तर्फबाट दायर न्यायिक पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले २१ साउन २०८३ मा पुनरावलोकनको अनुमति दिएको हो।

सर्वोच्चको निर्णयको स्वागत गर्दै कोइरालाले आगामी न्याय निरूपणबाट पार्टीले न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको बताए। अदालतको पछिल्लो निर्णयले राष्ट्रिय भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने, बरु पार्टीका कार्यकर्तामा थप उत्साह पैदा गरेको उनको भनाइ थियो।

पार्टीको आन्तरिक एकता र भावी कार्यदिशा तय गर्न आयोजना गरिएको भेलाले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसलाई वैचारिक तथा सांगठनिक रूपमा एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने कोइरालाले बताए।

‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकतावद्ध बनाउन यो भेला कोशेढुङ्गा सावित हुनेछ,’ उनले भने। यसअघि १० देखि २० हजारसम्मको सहभागिता हुने अनुमान गरिएको भए पनि सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि पार्टी पंक्तिमा सकारात्मक सन्देश गएको र भेलामा उल्लेख्य सहभागिता हुने उनको दाबी छ।

कोइरालाले नेता पूर्णबहादुर खड्का अस्वस्थ रहेका र शेखर कोइराला विराटनगरमा आफ्नै काममा व्यस्त रहेकाले भेलामा उपस्थित हुन नसक्ने बताए। यद्यपि, उनीहरू दुवैको अभियानप्रति पूर्ण समर्थन र ऐक्यवद्धता रहेको उनको भनाइ थियो।

पूर्वसभापति देउवा २६ साउनमा स्वदेश फर्कने सन्दर्भमा उठेका धरपकडका आशंकाबारे पनि कोइरालाले कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको बताए। यदि त्यस्तो अवस्था आए पार्टीले त्यसको कडा प्रतिवाद गर्ने उनको चेतावनी थियो।

आफू पूर्वसभापति देउवालाई भेट्न हङकङ नगएको समेत कोइरालाले स्पष्ट पारे।

उनले कांग्रेसका भ्रातृ संस्था, शुभेच्छुक संस्था तथा सम्पूर्ण कार्यकर्तालाई राष्ट्रिय भेलामा सहभागी हुन आह्वान गरेका छन्। राष्ट्रियता, लोकतन्त्र र समाजवादका सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ जीवन दिने दृढ संकल्पका साथ भेला आयोजना गर्न लागिएको कोइरालाले बताए।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ११ : ०१ बजे