२३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026

करदाता प्रोत्साहन कार्यक्रम: बिल लिने–दिने उपभोक्तालाई लाखौँको पुरस्कार



काठमाडौँ । वस्तु तथा सेवा खरिद गर्दा बिल लिने–दिने संस्कृतिको विकास गर्ने उद्देश्यले सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन कार्यक्रम’ अन्तर्गत पहिलो पटक गोलाप्रथाद्वारा भाग्यशाली विजेता छनोट गरिएको छ। अर्थ मन्त्रालयमा आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साउन १ गतेदेखि १५ गतेसम्म खरिद गर्ने उपभोक्ताहरूमध्येबाट विजेता छनोट गर्नुभएको हो।

उक्त गोलाप्रथाबाट १५ जनाले जनही १–१ लाख रुपैयाँ र कञ्चनपुर पुनर्वासका हेमराज जोशीले १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्न सफल भएका छन्। जोशीले साउन ७ गते २५० रुपैयाँको सामान खरिद गरी क्युआर कोडमार्फत भुक्तानी गर्दा उक्त बम्पर पुरस्कार जितेका हुन्।

१–१ लाख रुपैयाँ जित्ने १५ भाग्यशाली उपभोक्ताहरू

साउन १: लिटिल फ्लावर इङ्लिस बोर्डिङ स्कुल, शुद्धोधन (रूपन्देही) मा ३० हजार शैक्षिक शुल्क तिर्ने व्यक्ति।

साउन २: आरबी इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स, सुनाकोठी (ललितपुर) बाट २७० रुपैयाँको सामान किन्ने अमित राई।

साउन ३: टर्मिनल वन हिमालयन मार्ट, विरौटा (पोखरा) बाट ५६० रुपैयाँको सामान किन्ने नरेन्द्र।

साउन ४: बबल्स इन्टरटेनमेन्ट, राधेराधे (भक्तपुर) मा २४० रुपैयाँको मुभी टिकट किन्ने हिमाल अर्याल।

साउन ५: भेटघाट रेस्टुरेन्ट (चितवन) मा ३०० रुपैयाँको खाजा खाने राजकुमार।

साउन ६: श्री पाथिभरा देवी ट्रेडर्स, इटहरी (सुनसरी) बाट २३० रुपैयाँको सामान किन्ने अर्जुन।

साउन ७: हाम्रो सहारा सेभिङ एण्ड क्रेडिट (सहकारी पसल), टोखा (काठमाडौँ) बाट ३ हजारको सामान किन्ने पञ्चनारायण।

साउन ८: शुभसिद्धि सप्लायर्स (रूपन्देही) बाट ८०० रुपैयाँको सामान किन्ने सपना खरेल।

साउन ९: एम्ब्रोसिया होटल, चरिकोट (दोलखा) मा ७३० रुपैयाँ भुक्तानी गर्ने सञ्जय श्रेष्ठ।

साउन १०: मुस्कान मोबाइल पसल, विराटनगरका कामदार (होलसेल खरिदमा आफ्नै वालेटबाट भुक्तानी गरेका)।

साउन ११: टोखा डेरी, टोखा (काठमाडौँ) बाट २२५ रुपैयाँको सामान किन्ने रश्मी।

साउन १२: मेघा मार्ट, लाजिम्पाट (काठमाडौँ) बाट १६० रुपैयाँको सामान किन्ने प्रवीण।

साउन १३: मदन स्टोर, हाटबजार (सिद्धार्थनगर, रूपन्देही) बाट ५८० रुपैयाँको सामान किन्ने सन्तोष गुरूङ।

साउन १४: अलिप्स इकम, शान्तिनगर (काठमाडौँ) बाट ५०० रुपैयाँको ब्यालेन्स रिचार्ज गर्ने सुदीप तामाङ।

साउन १५: पिपुल कलेक्सन, गोदाम लाइन (वीरेन्द्रनगर, सुर्खेत) बाट ५०० रुपैयाँको सामान किन्ने लिना ठाडा।

छनोट प्रक्रिया र नियमावली
विभागले हरेक महिनाको १ र १६ गते विजेता छनोट गर्ने कार्यविधि बनाएको छ। स्थायी लेखा नम्बर (PAN) वा मूल्यअभिवृद्धि कर (VAT) मा दर्ता भएका बिक्रेताबाट १०० रुपैयाँभन्दा बढीको सामान/सेवा निजी प्रयोजनका लागि खरिद गर्ने अन्तिम उपभोक्ता यसमा सहभागी हुन पाउँछन्।

डिजिटल वा क्युआर (QR) भुक्तानी गर्दा कारोबार स्वतः प्रणालीमा सहभागी हुनेछ भने नगद भुक्तानीको हकमा विभागको वेबसाइट (prize.ird.gov.np) मा बिल अद्यावधिक गर्नुपर्नेछ। तर व्यावसायिक खरिद, सरकारी बिल, टेलिफोन, विद्युत्, सवारी र हवाई टिकट भने यस योजनामा समावेश हुने छैनन्।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ११ : ०५ बजे