न्यूयोर्क/वासिङ्टन । इरानसँग जारी पाँच महिना लामो युद्धका कारण अमेरिकी सेनाको विश्वव्यापी अत्याधुनिक र दूरगामी क्षमताका क्षेप्यास्त्र (लङ-रेन्ज मिसाइल) भण्डारमा गम्भीर गिरावट आएको छ ।
मामलासँग परिचित स्रोतहरूका अनुसार अमेरिकाले आफ्ना प्रमुख सर्फेस-टु-सर्फेस क्षेप्यास्त्रहरू ‘एटाकम्स’ र ‘प्रिसिजन स्ट्राइक मिसाइल’को भण्डार लगभग सिद्ध्याएको छ ।
अमेरिकाले इरानमाथिका आक्रमणमा विमान चालकहरूको जोखिम घटाउन दूरगामी क्षेप्यास्त्रहरूको प्रयोगलाई प्राथमिकता दिएको थियो । तर भण्डार रित्तिँदै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी दिनमा ठूला आक्रमणका लागि जोखिमपूर्ण मानिने फाइटर जेट र पाइलटयुक्त बमबारीमा निर्भर हुनुपर्ने बाध्यता सिर्जना भएको छ ।
यसले गर्दा चीन र रुस जस्ता अन्य प्रतिस्पर्धी राष्ट्रहरूबाट हुन सक्ने सम्भावित चुनौतीको सामना गर्ने अमेरिकी क्षमतामा असर पर्न सक्ने भन्दै सुरक्षा अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार हालसम्म ‘एटाकम्स’ र ‘प्रिसिजन स्ट्राइक’ मात्र नभई डिफेन्सिभ क्षेप्यास्त्र प्रणाली ‘प्याट्रियट’ र ‘थार्ड’को भण्डारमा पनि भारी गिरावट आएको छ । त्यस्तै, अमेरिकी नौसेनाले प्रयोग गर्ने ‘टोमाहक’ क्रुज मिसाइलको विश्वव्यापी भण्डार पनि करिब आधा सकिइसकेको छ ।
ह्वाइट हाउसले भने यस विषयमा प्रतिक्रिया दिँदै अमेरिकामा पर्याप्त हतियार रहेको र रक्षा कम्पनीहरूले इतिहासकै उच्च स्तरमा उत्पादन बढाएको दाबी गरेको छ । उता पेन्टागनले पनि अमेरिकी सेना जुनसुकै परिस्थिति र स्थानमा राष्ट्रिय हितको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको स्पष्ट पारेको छ । तर, विश्लेषकहरूले भने युद्ध लम्बिँदै गएमा हालको उत्पादन गतिले मात्रै अमेरिकी सेनाको माग धान्न धौ-धौ पर्ने चेतावनी दिएका छन् । –रोयटर्स









