काठमाडौं । काठमाडौंको कलंकीबाट एक युवकलाई ट्याक्सीमा राखेर अपहरण गरी नागार्जुनमा बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ। युवकलाई घरको भुइँतलामा राखेर कुटपिट गर्दै परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनामा संलग्न रहेको आरोपमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ का ३२ वर्षीय मनोज बुढाथोकी, मकवानपुर बागमती गाउँपालिका–५ का २० वर्षीय निशान रुम्बा तामाङ, सर्लाही लालबन्दी नगरपालिका–४ का २२ वर्षीय जेनिश चौधरी, ओखलढुंगा लिखु गाउँपालिका–५ का २४ वर्षीय निमेश कार्की, चितवन राप्ती नगरपालिका–२ का २४ वर्षीय अमित ओली, अर्घाखाँची मालारानी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप पोखरेल र काभ्रे भुम्लु गाउँपालिका–८ का २३ वर्षीय देवकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका सातै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
अपहरणमा परेका नवीन रायलाई प्रहरीले नागार्जुन नगरपालिका–५ छेग्डोलस्थित एक घरबाट उद्धार गरेको हो। प्रहरीले घटनास्थलबाट कुटपिटमा प्रयोग भएको प्लास्टिकको पाइप, नाइलनको डोरी र चक्कुसमेत बरामद गरेको जनाएको छ।
सामाजिक सञ्जालबाट सम्पर्क, भेट्न बोलाएर अपहरण
प्रहरीका अनुसार घटना साउन २८ गते दिउँसो भएको हो। घटनाको मुख्य योजनाकार बुढाथोकी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बुढाथोकीको सामाजिक सञ्जाल फेसबुकमार्फत ‘रोहित’ नाम गरेका भारतीय नागरिकसँग सम्पर्क भएको थियो। रोहितले डलर कार्डमा रकम लोड गर्ने विषयमा सामाजिक सञ्जालमा राखेको विज्ञापनमार्फत बुढाथोकीसँग कुराकानी गरेको प्रहरीको भनाइ छ।
रोहितले डलरको राम्रो मूल्य दिने भन्दै बुढाथोकीसँग सम्पर्क गरेको र आफूलाई सहयोग गर्न एक जना व्यक्ति पठाउने बताएका थिए। त्यसपछि रोहितको भनाइअनुसार सहयोग गर्न नवीन रायलाई बुढाथोकीसँग भेट्न पठाइएको थियो।
राय कलंकीस्थित भेटघाट क्याफेमा पुगेपछि उनलाई धारिलो हतियार देखाएर जबर्जस्ती ट्याक्सीमा राखिएको थियो। त्यसपछि नागार्जुन नगरपालिका–५ छेग्डोलस्थित रेनुका महर्जनको घरको भुइँतलामा लगेर बन्धक बनाइएको प्रहरीले जनाएको छ।
मोटरसाइकलबाट स्कर्टिङ गर्दै लगिएको आरोप
राय क्याफेमा आउँदै गरेको जानकारी पाएपछि बुढाथोकीले उनको निगरानी गर्न आफ्ना मानिस परिचालन गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार राय आएको जानकारी पाएपछि बुढाथोकी आफैं क्याफे पुगेका थिए। त्यसपछि हतियार देखाएर रायलाई ट्याक्सीमा राखी अपहरण गरिएको थियो। ट्याक्सीलाई मोटरसाइकलबाट स्कर्टिङ गर्दै बन्धक बनाउने स्थानसम्म लगिएको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्।
प्रहरीका अनुसार रायलाई ट्याक्सीमा राखेपछि बुढाथोकी पनि ट्याक्सीमै चढेका थिए। निमेश कार्कीले समेत ट्याक्सीमा चढेर सहयोग गरेको पाइएको छ। प्रदीप पोखरेलले रायलाई ट्याक्सीमा राख्न सहयोग गर्नुका साथै मोटरसाइकलबाट स्कर्टिङ गरेको प्रहरीको भनाइ छ।
कुटपिट गर्दै १८ लाख फिरौती माग
रायलाई बन्धक बनाएपछि उनको परिवारसँग १८ लाख रुपैयाँ फिरौती मागिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बन्धक बनाइएको घरमा पुग्दा रायलाई न्यूनतम कपडा लगाउन दिइएको र हातखुट्टा नाइलनको डोरीले बाँधिएको अवस्थामा फेला पारिएको थियो।
उनको शरीरमा प्लास्टिकको पाइपले कुटपिट गरिएको र निलडामसमेत देखिएको प्रहरीले जनाएको छ।
प्रहरी अधिकारीका अनुसार रोहितले भनेअनुसार सहयोग गर्न पुगेका रायमाथि उनी क्रिप्टो कारोबारमा संलग्न हुन सक्ने आशंकासमेत गरिएको थियो। क्रिप्टो कारोबारको पासवर्ड माग्दै उनलाई यातना दिइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
दिउँसो करिब २ बजे अपहरणमा परेका रायलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले प्राविधिक विश्लेषण तथा इन्टेलिजेन्सको सहयोगमा साँझ करिब साढे ६ बजे उद्धार गरेको थियो।









