३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026

मकवानपुरमा बाढीले चार विद्यार्थी बगायो, एकको मृत्यु, दुई बेपत्ता



मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलामा आएको बाढीले चार विद्यार्थीलाई बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । एक विद्यार्थी भने खोलाबाट सकुशल निस्कन सफल भएका छन्।

हेटौँडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदीका अनुसार बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी विद्यालय छुटेपछि घर फर्कने क्रममा बाढीमा परेका हुन्।

उनीहरू बासुदेव खोला तरेर डाँडागाउँस्थित घरतर्फ जाने क्रममा खोल्सामा एक्कासि आएको बाढीले बगाएको वडाध्यक्ष सुवेदीले बताए।

‘दुईजनालाई फेला पार्न सकिएको छैन। खोजी गरिरहेका छौँ,’ सुवेदीले भने, ‘एकजना सकुशल नै फेला परेका छन्। एकजनाको शव भेटिएको छ।’

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार घटनामा एक जनाको मृत्यु भएको छ भने एक जनालाई उद्धार गरी उपचारका लागि पठाइएको छ। बेपत्ता दुई जनाको खोजी भइरहेको उनले बताए।

प्रहरीका अनुसार हेटौँडा–१९ बस्तिपुरका दिप स्याङताङकी ८ वर्षीया छोरी रोसनी स्याङताङको शव बाढीले बगाएको स्थानबाट करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेको हो।

त्यस्तै, सोही स्थानका टीकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी १२ वर्षीया छोरी बिनिता भोलन बेपत्ता छन्। उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले खोलालगायत आसपासका क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ११ : ०० बजे