इजिप्टको सञ्चार माध्यममा सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी चर्चित कार्यक्रम ‘मिसन इम्पोसिबल’ मार्फत लोकप्रिय बनेकी ३९ वर्षीया टेलिभिजन प्रस्तोता सारा खलिफालाई काइरोको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
सरकारी सञ्चार माध्यम अल-अहरामका अनुसार खलिफा र अन्य ११ जना अभियुक्तलाई विशाल लागुऔषध उत्पादन तथा तस्करी सञ्जाल सञ्चालन गरेको र अवैध हातहतियार राखेको अभियोगमा झुन्ड्याएर मृत्युदण्ड दिने फैसला भएको हो ।
अदालतको अनुसन्धानका क्रममा उनीहरूले विदेशबाट कच्चा पदार्थ आयात गरी कृत्रिम लागुऔषध तयार पारेर बिक्री वितरण गर्ने संगठित गिरोह बनाएको खुलासा भएको थियो ।
सुरक्षा निकायले खलिफा र उनको समूहबाट ७५० किलोभन्दा बढी लागुऔषध तथा त्यसको कच्चा पदार्थ बरामद गर्नुका साथै काइरोका दुईवटा आवासीय अपार्टमेन्टलाई गुप्त प्रयोगशालाको रूपमा प्रयोग भइरहेको अवस्थामा फेला पारेको थियो। टेलिभिजन पर्दामा अपराध विरुद्ध आवाज उठाउने खलिफाको अर्को व्यावसायिक परिचय पनि थियो ।
उनी एक कस्मेटिक सर्जरी क्लिनिक र इभेन्ट व्यवस्थापन गर्ने प्रोडक्सन कम्पनीकी मालिकसमेत हुन् । यसका अलावा, एक युवकको अपहरण र कुटपिटको छुट्टै मुद्दामा पनि खलिफा र उनका सहयोगीहरूलाई अदालतले पाँच वर्षको कैद सजाय सुनाएको छ ।
इजिप्टको कानुनी प्रक्रिया अनुसार मृत्युदण्डको फैसला अन्तिम हुनुअघि देशका धार्मिक प्रमुख ‘ग्राण्ड मुफ्ती’ सँग परामर्श लिइएको थियो। खलिफाले अदालतसमक्ष आफू निर्दोष रहेको र कुनै पनि लागुऔषध धन्दामा संलग्न नरहेको दाबी गर्दै आएकी छन् । यो फैसला अन्तिम नभएकाले अभियुक्तहरूलाई देशको सर्वोच्च अदालत (कोर्ट अफ क्यासेसन) मा पुनरावेदन गर्ने अधिकार बाँकी छ।









