काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना १३ वटा विभिन्न विभागका प्रमुख र दुई उपप्रमुखको मनोनयन गरेको छ । बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले उक्त विभागीय जिम्मेवारी बाँडफाँडको निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
बैठकको निर्णय अनुसार प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान, कानुन मामिला तथा संस्थागत अनुपालन विभाग प्रमुखमा मोहनलाल आचार्य र सामाजिक न्याय, लैंगिक समानता तथा समावेशिकता विभाग प्रमुखमा रुविना आचार्य मनोनित भएका छन् ।
यसैगरी सुशासन तथा राज्य व्यवस्था विभागमा सुदिप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता र श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागमा दिपककुमार साह (महोत्तरी) ले प्रमुखको जिम्मेवारी पाएका छन् ।
आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागको प्रमुखमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवर्द्धन विभाग प्रमुखमा रिमा विश्वकर्मा चयन भएका छन् ।
विभागीय प्रमुखहरूसँगै केन्द्रीय समिति बैठकले अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लीश्वोर कार्कीलाई मनोनित गरेको प्रवक्ता खरेलले बताएका छन् ।









