काठमाडौँ। सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न पदमा आकर्षक पारिश्रमिकसहित कर्मचारीको माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सरकारी निकायका सूचना प्रणालीको विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भारका लागि कुल ९ प्रकारका प्राविधिक पदहरूमा आवेदन आह्वान गरेको हो।
केन्द्रले सार्वजनिक गरेको विज्ञापन अनुसार सबैभन्दा उच्च पारिश्रमिक प्रमुख प्रविधि विज्ञ पदका लागि मासिक २ लाख ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ। यसैगरी, प्रोजेक्ट म्यानेजर तथा अन्य विभिन्न क्षेत्रका प्रमुख (सेक्टर हेड) पदहरूमा मासिक २ लाख रुपैयाँ पारिश्रमिक दिने व्यवस्था गरिएको छ। माग गरिएका पदहरूमा प्रमुख प्रविधि विज्ञ १ जना, प्रोजेक्ट म्यानेजर २ जना, सेक्टर प्रमुख (प्रोजेक्ट तथा बिजनेस एनालिसिस) १ जना, सेक्टर प्रमुख (सफ्टवेयर इन्जिनियरिङ) १ जना, सेक्टर प्रमुख (क्वालिटी एनालिसिस) १ जना र सेक्टर प्रमुख (इन्फ्रास्ट्रक्चर तथा अपरेसन्स) १ जना रहेका छन्।
अन्य प्राविधिक पदहरूमा सिस्टम एनालिस्ट ४ जना, सिनियर डेभलपर ३ जना र सिस्टम/नेटवर्क/डाटाबेस एडमिनिस्ट्रेटर २ जना माग गरिएको छ। यी पदहरूका लागि क्रमश: मासिक १ लाख ६० हजार, १ लाख ४० हजार र १ लाख ५० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ।
विज्ञापनअनुसार आवेदन दिनका लागि सूचना प्रविधिसँग सम्बन्धित विषयमा शैक्षिक योग्यता तोकिएको छ। प्रमुख प्रविधि विज्ञ र प्रोजेक्ट म्यानेजर पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्नेछ भने अन्य बाँकी पदहरूका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
पदअनुसार फरक-फरक प्राविधिक दक्षताको पनि माग गरिएको छ। जसअन्तर्गत प्रमुख प्रविधि विज्ञका लागि प्रविधि रणनीति, नेतृत्व, सुरक्षा, सुशासन र प्रणाली एकीकरणसम्बन्धी उच्च दक्षता हुनुपर्नेछ। त्यस्तै, प्रोजेक्ट म्यानेजरका लागि योजना, समन्वय, जोखिम व्यवस्थापन र परियोजना कार्यान्वयनको ज्ञान आवश्यक पर्दछ। सफ्टवेयर इन्जिनियरिङतर्फ कोड समीक्षा, एपीआई डिजाइन र रिलिज व्यवस्थापन, क्वालिटी एनालिसिसतर्फ परीक्षण रणनीति र स्वचालन, तथा इन्फ्रास्ट्रक्चरतर्फ प्रणालीको विश्वसनीयता र घटना व्यवस्थापनसम्बन्धी अनुभव हुनुपर्ने केन्द्रले जनाएको छ। सरकारी निकायका सफ्टवेयर प्रणालीको विकास र सञ्चालनलाई थप प्रभावकारी बनाउन यी प्राविधिक जनशक्ति परिचालन गरिनेछ।








