नेपाली कांग्रेसका सभापति गगन थापाले आफूमाथि हालै लगाइएका आरोपहरू पूर्ण रूपमा निराधार र राजनीतिक षड्यन्त्रबाट प्रेरित रहेको स्पष्ट पार्दै त्यसको डटेर प्रतिवाद गर्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन्। बुधबार शीर्ष नेताहरूसँगको छलफलपछि बिहीबार दिउँसो सानेपामा पार्टीका पदाधिकारी र सांसदहरूसँगको बैठकमा सभापति थापाले पछिल्लो घटनाक्रमबारे औपचारिक प्रस्टीकरण दिएका हुन्। डेढ घण्टაभन्दा बढी समय चलेको उक्त बैठकमार्फत थापाले आफूले जीवनमा कुनै पनि गलत वा अनैतिक काम नगरेको दोहोर्याउँदै पार्टीका साथीहरूलाई कुनै पनि कुरामा चिन्ता नलिन आग्रह गरे।
हाल प्रहरी हिरासतमा रहेका ‘फिक्सर’ भनिएका इनम सापकोटासँग आफ्नो कुनै पनि किसिमको भेटघाट र चिनजान नरहेको प्रस्ट पार्दै थापाले बाहिर आएको भनिएको अडिओ आफ्नो नभई आफूविरुद्ध बनाइएको दाबी गरे। सापकोटाका सम्बन्धमा आएको अडिओ आफूले बोलेको नभई आफूलाई जोडेर बोल्न लगाइएको उनको भनाइ थियो। आफू जुनसुकै किसिमको निष्पक्ष अनुसन्धानका लागिसमेत पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै थापाले सरकारले अनावश्यक र जबरजस्ती धरपकडको प्रयास गरेमा भने त्यसको कडा प्रतिवाद गर्नुपर्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले कांग्रेस र स्वयम् आफूविरुद्ध सुनियोजित षड्यन्त्र गरिरहेको फेहरिस्त पनि उनले बैठकमा प्रस्तुत गरेका थिए।
सभापति थापाको सम्बोधनपछि बैठकमा सहभागी पदाधिकारी तथा नेताहरूले समसामयिक राजनीतिक विषयमा आ-आफ्ना धारणा राखेका थिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहमहामन्त्री योगेन्द्र चौधरीले प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेनमाथि गम्भीर फौजदारी कसुरमा अनुसन्धान हुनुपर्ने कांग्रेसको जोड रहेको बताए। प्रहरी हिरासतमा रहेका सापकोटाबाट बरामद गरिएका दुईवटा मोबाइल फोनहरू डिजिटल फरेन्सिक परीक्षण गर्नुअघि प्रमुख सल्लाहकार बेनले दुई दिनसम्म आफ्नो घरमा लगेर राखेको विषय अत्यन्त शंकास्पद र गम्भीर रहेको कांग्रेसको ठहर छ। बेनले ती मोबाइलबाट ह्वाट्सएप र फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोग गरी विभिन्न सामग्रीका स्क्रिनसट लिएको तथा इनम र बेनबीचका केही महत्त्वपूर्ण मेसेजहरू समेत मेटाइएको भन्ने सूचना बाहिर आएकाले यसमाथि छानबिन हुनुपर्ने कांग्रेसको माग छ।
यस्तै, महामन्त्री प्रदीप पौडेलले पछिल्लो समय सार्वजनिक भएका विवादास्पद प्रकरणहरूलाई संसदीय समितिमा जोडदार रूपमा उठाइने जानकारी दिए। संसद् र सम्बन्धित विषयगत समितिका सांसदहरूसँगको छलफलपछि यी विषयहरूलाई संसदीय छानबिनका एजेन्डा बनाउने निर्णय भएको उनको भनाइ छ। सभापति थापामाथि लगाइएका आरोपहरू प्रमाणित गर्न चुनौती दिँदै कांग्रेसले सरकारतर्फबाट भइरहेका षड्यन्त्रहरूलाई अब संसद् र सडक दुवै πबाट सशक्त रूपमा प्रतिवाद गर्ने नीति लिएको सहमहामन्त्री चौधरीले बताए।









