२३ कार्तिक २०८३, आइतबार | Mon Nov 9 2026

कांग्रेसका निवर्तमान सभापति देउवाले ‘इनम सापकोटा’ प्रकरणमा गगनमाथि प्रश्न उठाए



नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले बिचौलिया इनम सापकोटाको कुराकानीलाई आधार बनाउँदै वर्तमान सभापति गगन थापामाथि पार्टीको आधिकारिकता खरिदबिक्री गरेको गम्भीर आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित आफ्ना पक्षका कार्यकर्ताहरूको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोगको निर्णयमा आर्थिक चलखेल भएको दाबी गरे।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले बहुमतका आधारमा मान्यता दिएको थियो जसमा तत्कालीन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शमेशर राणाले पक्षमा निर्णय गर्दा अर्की आयुक्त जानकी तुलाधरले भने असहमति जनाएकी थिइन्। सोही प्रसंग कोट्याउँदै देउवाले प्रमुख निर्वाचन आयुक्त भण्डारीले आफ्नो ज्यानमा खतरा भएकाले निर्णय दिएको भन्ने अभिव्यक्तिप्रति प्रश्न उठाएका थिए। हलका कार्यकर्ताहरूले ‘इनम सापकोटा’ भनेर नाम लिएपछि देउवाले बिचौलिया सापकोटाले १८ करोड रुपैयाँको चलखेल गरी पैसामा पार्टी किनिदिएको आरोप लगाए।

तर, यसअघि नै सभापति गगन थापाले पदाधिकारी र सांसदहरूसँगको छलफल तथा भिडियोमार्फत आफ्ना भनाइ राख्दै आफուबाट कुनै पनि गलत वा अनैतिक काम नभएको स्पष्ट पार्दै कसैले पनि चिन्ता लिनु नपर्ने बताइसकेका छन्।

सम्बोधनका क्रममा देउवाले निर्वाचन आयोगबाट आफूहरूलाई अन्याय भएको र अब सर्वोच्च अदालतबाट न्याय पाइने विश्वास व्यक्त गरे। राजा ज्ञानेन्द्रको शासनकालमा आफू थुनामा पर्दा अदालतले निष्पक्ष फैसला गरेर न्याय दिएको स्मरण गराउँदै उनले अहिले पनि अदालतले निष्पक्ष न्याय दिने र ‘रुख’ चिह्न आफ्नै पक्षमा आउने दाबी गरे। साथै, अब आफू पार्टी सभापति नहुने स्पष्ट पार्दै जीवनमा लिनुपर्ने केही नभएको र आफूले पार्टी तथा देशलाई दिन बाँकी रहेको बताउँदै ‘अनरेबल रिटायरमेन्ट’ (सम्मानजनक बिदाइ) चाहेको देउवाको भनाइ थियो।

प्रकाशित मिति : २२ कार्तिक २०८३, शनिबार  ११ : ३० बजे