२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूलाई प्रधानमन्त्री शाहको सुझाव, ‘विवादित बिआरआईबारे विवेकपूर्ण ढंगले बोल्नुस्’



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई भ्रमणका क्रममा आफ्नो धारणा राख्दा विशेष विचार पुर्‍याउन सुझाव दिएका छन् । रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० जना सांसदहरू नोभेम्बर १५ देखि २६ तारिखसम्म ११ दिन लामो चीन भ्रमणमा जाँदैछन् । भ्रमण टोलीमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री शाहले शुक्रबार सिंहदरबारमा टोलीसँग भेट गर्दै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) विवादित विषय भएकाले यसबारे विवेकपूर्ण ढंगले अभिव्यक्ति दिन आग्रह गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई आफूलाई कमजोर (इन्फेरियर) नसोच्न र एक सार्वभौम मुलुकको जनप्रतिनिधिका रूपमा आत्मविश्वासका साथ प्रस्तुत हुन सुझाएका थिए । ती सांसदका अनुसार चीनले अघि सारेका विभिन्न सुरक्षासहितका ग्लोबल इनिसिएटिभमध्ये नेपालले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ (जिडिआई) मा जोड दिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । साथै, उनले नेपालको असंलग्न परराष्ट्र नीतिअनुरूप धारणा राख्न र कतिपय संवेदनशील विषयमा चिनियाँ पक्षले धारणा राखिरहँदा सुन्न मात्र सुझाव दिएका छन् ।

भ्रमणलाई केवल घुमघाम र पर्यटनमा मात्र सीमित नराख्न आग्रह गर्दै प्रधानमन्त्री शाहले स्वदेश फर्किएपछि भ्रमणको उपलब्धि र सुझावसहित सरकारलाई प्रतिवेदन बुझाउन समेत निर्देशन दिएका छन् । भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का पोलिट्ब्युरो सदस्यसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

महामन्त्री आचार्यको नेतृत्वमा जाने टोलीमा दलका उपनेता गणेश पराजुली, राज्य व्यवस्था समितिका सभापति हरि ढकाल, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी छन् ।

यसैबीच, चीन जाने सांसदहरूको छनोट प्रक्रियालाई लिएर रास्वपाभित्र आन्तरिक असन्तुष्टि देखिएको छ । सेतोपाटीसँग कुरा गर्दै पार्टीका एक सांसदले महामन्त्री आचार्यले आफ्नो तजबिजमा (ह्याण्ड पिक) सांसदहरू छनोट गरेको आरोप लगाए । नेपाल–चीन संसदीय मैत्री समूहमा रहेका सांसदहरूलाई नै भ्रमण टोलीमा नसमेटिएको र टर्कीमा रहेका सांसद सागर ढकाललाई सिधै चीन बोलाइएको भन्दै असन्तुष्ट पक्षले प्रश्न उठाएको छ । प्रधानमन्त्री शाहनिकट मानिने सांसदहरूले भने भ्रमण टोलीमा पार्टी सभापति रवि लामिछानेनिकट सांसदहरूको बाहुल्य रहेको तथा ‘जेनजी’ उमेर समूह र प्रधानमन्त्री शाह पक्षका सांसदहरूलाई उपेक्षा गरिएको गुनासो गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शुक्रबार  १० : ११ बजे